बैतडी । कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ । निःशुल्करुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । मेलौली नगरपालिका सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ । उनले भने, “प्रत्येक स्थानीय तहमा दुई दिने शिविर सञ्चालन गरेर सेवा दिन्छौँ ।” तीनवटै स्थानीय तहमा गरेर एक हजार ६०० लाई सेवा प्रदान गरिएको जिल्ला अस्पतालले जनाएको छ । शिविरमा जनरल ओपीडी, अल्ट्रासाउण्ड, प्रयोगशाला, परिवार नियोजन, दन्त, अपाङ्गता परिचयपत्रका लागि सिफारिस, औषधि वितरणलगायतका सेवा प्रदान गरिँदै आएका छन् ।
ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।
जिल्ला अस्पतालमा पुग्न सहज नभएका पालिकाका नागरिकलाई गाउँघरमै चिकित्सक पुगेर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको डा. जोशीले बताए । चालु आर्थिक वर्षमा जिल्लाका पाँचवटा दुर्गम पालिकामा शिविर सञ्चालन गरेर विभिन्न सेवा एकीकृतरुपमा दिने लक्ष्य रहेको जिल्ला अस्पतालले जनाएको छ । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनाका शिविर सञ्चालन भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ फागुन २०७७, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच महिनादेखि चिकित्सक बेपत्ता
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबिच सम्झौता
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक चिकित्सक पक्राउ
बागमती प्रदेशमा दुर्गमका चिकित्सकलाई प्रोत्साहन भत्ता
भूकम्प पीडितको उद्धारका लागि रास्वपाले जाजरकोटमा पठायो चिकित्सकको २ टोली