निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०८१, ०८ : ३७
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

काठमाडौ । निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूले पनि निर्वाह भत्ता पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरी निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई दिइने निर्वाह भत्ताको निर्णय सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत मंसिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठकले निजी लगानीका मेडिकल कलेजले प्रदान गर्ने निर्वाह भत्ता सम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दिएको थियो । सोही अनुसार विभिन्न सरोकारवालासँग पटक पटक भएको छलफलपछि निर्णय गरिएको हो ।

निर्णय अनुसार सःशुल्क तर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलले पहिलो वर्ष कम्तीमा २५ हजार, दोस्रो वर्ष कम्तीमा ३० हजार र तेस्रो वर्ष कम्तीमा ३५ हजार रुपैयाँका दरले निर्वाह भत्ता पाउनेछन् । यो व्यवस्था शैक्षिक सत्र २०८१÷०८२ देखि नै लागू हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययनपश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस