चितवन । काम गुमाएसँगै मामको समस्या पर्नेहरु यतिबेला नारायणी किनारमा धाउन थालेका छन् । नारायणी किनारमा भोकाहरुका लागि निःशुल्क खाना वितरण गर्न थालिएसँगै ज्याला मजदुरी गर्नेहरु भोक लागेसँगै नारायणी किनार जान थालेका हुन् ।
नियमित काम नपाएसँगै असङ्गठित क्षेत्रका मजदूरहरु भोक मेटाउन नारायणी किनारमा जाने गरेका छन् । भरतपुर महानगरपालिका–३ वेलचोकमा बसोबास गर्दै आउनुभएका विष्णु गुरुङ अहिले नियमित जसो नारायणी किनार पुग्नुहुन्छ । उहाँ निषेधाज्ञासँगै बस्नका लागि ठाउँ भए पनि के खाने भन्ने चिन्तामा हुनुहुन्छ । उहाँ अहिले पेट पाल्नका लागि बेवारिसे व्यवस्थापन तथा पुनः जीवन केन्द्रले भदौ ५ गतेदेखि सञ्चालन गरेको सडकका बेवारिसेहरुलाई निःशुल्क खाना वितरण कार्यक्रममा पुग्ने गर्नुभएको छ ।
धादिङ घर भई विगत ९ वर्षदेखि नारायणगढमा ज्याला मजदुरी गरेर बस्ने गुरुङले भन्नुभयो, “काम पाउन छाडियो । कसैले काम दिँदैन । बन्दले गर्दा पेट पाल्न कठिन भयो ।” अहिले लामो दूरीको सवारी साधन सञ्चालनमा नआउँदा काम नपाएको उहाँको गुनासो छ । गुरुङ्ले भन्नुभयो, “काम नपाएपछि घरभाडासमेत तिर्न कठिन छ ।” उहाँ विगत १२ दिनदेखि केन्द्रले सञ्चालन गरेको खाना वितरण कार्यक्रममा गएर खाना खाने र फर्कने गर्नुभएको छ । “काम पाए यहाँ आएर खान किन पथ्र्यो”, उहाँले भन्नुभयो ।
नारायणगढ बजारको कमलनगरमा भाडामा श्रीमान्सँग बस्दै आउनुभएकी देवी मगर श्रीमान्को काम नभएपछि खाना खान र बस्नका लागि समस्या भएको बताउनुहुन्छ । श्रीमान्ले ज्याला मजदुरी गरेर ल्याएको खर्चले घर चलाउनुपर्ने भए पनि काम नपाएपछि खान समस्या भएकाले नारायणी किनार आउनु परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “घरधनीले कोठा खाली गर्न भनेका छन्, अब कहाँ जाने हो थाहा छैन रु” उहाँका श्रीमान् कामको खोजीमा गाउँतर्फ जानुभएको छ । उहाँले भावुक हुँदै भन्नुभयो, “श्रीमान् काम खोज्न गाउँमा गए पनि के खाए थाहा छैन ।”
गोर्खा घर भई मजदुरी काम गर्दै आउनुभएका रामबहादुर नेपाली काम कसैले नदिँदा बेसाहारा भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “काम पाइँदैन खाने के हो थाहा छैन ।” विगत १० वर्षदेखि यहाँ आएर काम गरेर आफ्नो जीवन पाल्दै आउनुभएका ३५ वर्षीय नेपाली अहिले सडकमा कवाडी टिप्ने काम पनि पाउन कठिन भएको बताउनुहुन्छ ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा घर जान नपाएर यहाँको सडकमा आउनुभएको छ काँकडभित्ताका ५३ वर्षीय देवीप्रसाद अधिकारी । अधिकारी पारिवारिक कामले चैत ११ गते चितवन आइपुग्नुभएको थियो । उहाँले यहाँ आएसँगै सङ्घीय सरकारले गरेको लकडाउन र त्यसपछि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण घर जान नपाएको गुनासो गर्नुभयो । “सडकमा बस्न मन छैन । जाउँ कहाँ जाउँ । घरसम्म पुग्न पाए हुन्थ्यो”, उहाँले भन्नुभयो ।
यस्तै ८७ वर्षीय वृद्ध रामसिंह गिरी भदौ ५ गतेदेखि नै यहाँ आएर खाना खान थाल्नुभएको छ । उहाँको अहिले बस्ने ठाउँ र खाने व्यवस्था पनि छैन । उहाँको दैनिकी आजभोलि सडकको पेटीमा बित्ने गरेको छ । “पहिले माग्न जाँदा दिन्थे, खान समस्या हुन्थेन”, उहाँले भन्नुभयो, “ अहिले माग्न जाँदा पनि कोरोना ल्याउँछस् भन्छन् ।” शुरुआती समयदेखि नै यहाँ खाना खाँदै आएको भए पनि बस्नका लागि समस्या हुने गरेको उहाँको गुनासो छ ।
बेवारिसे व्यवस्थापन तथा पुनः जीवन केन्द्र चितवन शाखाका सहसंयोजक प्रकाश थापाले अहिले बिहानमा दैनिक ३०० र साँझमा दैनिक २०० जनालाई खाना खुवाइँदै आएको जानकारी दिनुभयो । भदौ ५ गतेदेखि नियमित रुपमा खाना खुवाउँदै आएको उहाँको भनाइ छ । “सामाजिक व्यक्तित्वहरु, जन्मदिन र विशेष अवसरको समयमा गरिएको सहयोगले अहिलेसम्म निःशुल्क खाना खुवाउन सकिएको छ”, उहाँले भन्नुभयो ।
गत असारमा जिल्लामा शाखा स्थापना भएको यस संस्थाले बेवारिसेको शव व्यवस्थापन, उद्धार र उद्धारपछि व्यवस्थापन गर्दै आएको छ । संस्थाको रामनगरस्थित ठिमुरामा रहेको बाआमाको घरमा तीनजना बेवारिसेहरु रहेका छन् । नारायणी तिरमा एक बेवारिसेको उद्धार गर्न आएको समयमा धेरैले लामो समयदेखि खाना खान नपाएको गुनासो गरेसँगै आफूहरुमा यो सोच आएको थापाको भनाइ छ ।
उहाँले भन्नुभयो, “रोगले भन्दा भोकले मान्छे मर्छन् कि भन्ने चिन्ता बढ्यो ।” यो अभियान भदौ ३१ गतेसम्म जारी रहने उहाँले बताउनुभयो । नारायणी किनारमा पुग्ने भोको पेट भएका जो कोहीलाई खानाको व्यवस्था गरिएको छ । नारायणी नदीको खुल्ला आकाशमुनि दूरी कायम गर्दै लामबद्ध भोकाहरुलाई संस्थाले खाना खुवाउँदै आएको छ । हरेक दिन मध्याह्न १२ र साँझ ७ बजे खाना खाने समय तय गरिएको छ । मनकारीहरुका सहयोगीहरु र संस्थाको समन्वयमा भएको यो मानवीय कार्यमा सहयोग जुटेमा भोकाहरुको पेट भर्न समस्या नहुने स्थानीयवासी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २७ भदौ २०७७, १७ : १३
लेखकबाट थप