प्रधानमन्त्री ओलीलाई छोडेर सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दिल्लीमा ‘रेड कार्पेट’

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०८२, १० : १५
प्रधानमन्त्री ओलीलाई छोडेर सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दिल्लीमा ‘रेड कार्पेट’

काठमाडौं । प्रधानमन्त्री केपी ओली दिल्ली भ्रमणमा जान निक्कै हतारिएका थिए । गत वर्ष ३१ असारमा प्रधानमन्त्री चुनिएसँगै उनले दिल्ली भ्रमणमा जान अनेक कोसिस गरे । काग्रेस सभापति शेरवहादुर देउवा पत्नी समेत रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा देखि पार्टी नेता समेत रहेका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्म उनले परिचालन गरे ।

संयुक्त राष्ट्रसंघको महासभा देखि विमस्टेक सम्मेलनसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्तामा ओलीले आफनो भारत भ्रमण आउन चाहेको संकेत गरे । तर दिल्लीले ओलीको भ्रमणको कुनै चासो देखाएन । आफनो दिल्ली भ्रमण हुन नसकेपनि भारतका प्रधानमन्त्री मोदीलाई नै नेपाल भ्रमणमा बोलाउने योजनामा पनि ओली लागे । तर मोदीले नेपाल भ्रमणमा पनि खास चासो देखाएनन ।

न आफनो न मोदीको भ्रमणको चाँजोपाँजो मिलाउन नसकेर ओली आजित भईरहेका बेला ओलीलाई नै चक्मा दिनेगरी भारतले पहिलोपटक नेपालका प्रदेश मुख्यमन्त्रीलाई औपचारिक भ्रमणको निम्तो दिएर दिल्लीमा रातो कार्पेट ओछ्याएर स्वागत गर्न लागेको छ ।

नेपाल संघीय संरचनामा गएको र त्यस अनुसारको प्रदेश सरकार निर्माण भएको झण्डै ८ वर्षपछि भारतको पहिलो औपचारिक भ्रमणको निम्तो पाउने मुख्यमन्त्री बन्ने मौका पाएका छन्, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले ।

उनी आज भारतको औपचारिक भ्रमणमा निस्कन लागेका छन् । दिल्लीले पनि मजाक गरेको छ । नेपालका प्रधानमन्त्रीले भ्रमणका लागि गरेको अनेक तरहको कोसिसलाई सार्थक हुन नदेपनि सुदूरपश्चिमको मुख्यमन्त्रीलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्न तयार भएको छ । त्यही क्रममा सुपका मुख्यमन्त्री शाह आज दिल्ली भ्रमणमा निस्कदैछन् ।

उनी आज दिउँसो १२ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन् । उनको भ्रमण टोलीमा मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, मुख्य सचिव, सचिव र सचिवालयका केही सदस्यहरु छन् ।

मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक नरेशकुमार शाही,नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा। कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट दिल्ली जान लागेका छन् ।

उनीहरुले दिल्लीमा संघीय मन्त्रीसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्ने लगायतका रहेको छ । उनीहरु भारत भ्रमण सकेर वैशाख २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस