हार्भर्ड विश्वविद्यालयद्वारा ट्रम्प प्रशासनविरुद्ध संघीय अदालतमा मुद्दा दायर

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०८२, ११ : ०६
हार्भर्ड विश्वविद्यालयद्वारा ट्रम्प प्रशासनविरुद्ध संघीय अदालतमा मुद्दा दायर

काठमाडौं। हार्भर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनले प्रस्ताव गरेका अर्बौं डलरको सहयोग कटौती रोक्न संघीय अदालतमा मुद्दा दायर गरेको छ। सोमबार दायर गरिएको यो मुद्दा गत हप्ता चर्किएको विवादसँग सम्बन्धित रहेको बीबीसीले जनाएको छ ।

अघिल्लो हप्ता विश्वविद्यालय प्रशासनले ट्रम्प प्रशासनको मागको सूची अस्वीकार गरेको थियो। उक्त सूची विश्वविद्यालयको विविधतालाई नियन्त्रण गर्न र यहूदी विरोध (एन्टि–सेमेटिज्म) विरुद्ध कदम चाल्न तयार गरिएको प्रशासनको दाबी थियो।

 

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्भर्ड विश्वविद्यालयको २.२ अर्ब डलर (झण्डै ३ खर्ब नेपाली रूपैयाँ) बराबरको संघीय सहयोग रकम रोकिदिएका छन् भने विश्वविद्यालयको कर छुट सुविधा पनि खारेज गर्ने चेतावनी दिएका छन्।

 

 

 

हार्भर्ड विश्वविद्यालयका अध्यक्ष एलन एम. गार्बरले संघीय सहयोग रोकिएपछि बाल क्यान्सर, अल्जाइमर र पार्किन्सन जस्ता रोगहरूमा भइरहेको महत्त्वपूर्ण अनुसन्धान प्रभावित भएको बताएका छन्।

अनुदान मात्र होइन, केही दिनअघि ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न पाउने अधिकारमाथि पनि प्रश्न उठाएको थियो।

 

 

 

यहूदी समुदायमा पर्ने गार्बरले हार्भर्डमा यहूदीविरुद्धको समस्या रहेको स्वीकार गर्दै त्यसबारे कार्यदल गठन गरिएको र छानबिनको प्रतिवेदन चाँडै सार्वजनिक गरिने बताएका छन्। उनले मुस्लिम समुदायविरुद्ध हुने पूर्वाग्रहबारे पनि छुट्टै प्रतिवेदन तयार भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस