दिल्लीमा बाबुरामलाई भाजपा नेताको प्रश्न : 'नेपालमा राजतन्त्र फर्किन लागेको हो ?'

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०८२, १० : ०२
दिल्लीमा बाबुरामलाई भाजपा नेताको प्रश्न : 'नेपालमा राजतन्त्र फर्किन लागेको हो ?'

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईलाई नयाँ दिल्लीमा भारतीय जनता पार्टीका नेताहरुले नेपालमा राजतन्त्र फर्किन लागेको हो ? भनी प्रश्न गरेका छन् ।

नेपालमा राजावादीहरुको आन्दोलन चर्कन थालेको र चैत १५ मा काठमाडौंको तिनकुनेमा हिंसात्मक घटनासम्म हुन पुगेपछि भारतीय जनता पार्टीका नेताहरुले त्यसबारेमा जिज्ञासा राखेका हुन् । आफुलाई भाजपा नेताहरुले त्यस्तो प्रश्न गरेको डा बाबुरामले भारतीय जनता पार्टीका नेताहरुसँगको भेटपछि बताएका छन् ।

नेपालमा हिन्दु राज्य पूर्नस्थापना गर्न भाजपाले मलजल गरिरहेको र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथले त पूर्व राजासम्मलाई भेटेरै राजासहितको हिन्दु राज्य स्थापनाका लागि आवाज नै उठाएको परिदृश्यका बीचमा भाजपा नेताहरुले बाबुरामसँग त्यस्तो प्रश्न गरेका हुन् ।

आफु अनुकुल नेपालको राजनीति अगाडी जाने नभएपछि भारतीय पक्षले नेपालमा अस्थिरता निम्ताउन बेला -बेला नेपालको राजनीतिमा अनावश्यक टिप्पणी गर्ने गदैं आईरहेको छ । उसले नेपालमा अहिले राजतन्त्रको हौवा फिजाउने गरी नेपालका नेतालाई प्रश्न गरेको बताइन्छ ।

प्रधानमन्त्री केपी ओलीको झण्डै वर्ष दिन सरकारको नेतृत्व सम्हाल्दासम्म भारत भ्रमण हुन नसकिरहेको बेला पूर्व प्रधानमन्त्रीसँग भारतका रक्षामन्त्री राजनाथ सिंहले त्यस्तो प्रश्न गरेका हुन् । नेपालमा राजतन्त्र आउन लागेको हो ? बाबुरामसँगको भेटमा उनले समेत यस्तो प्रश्न सोधेका थिए ।

भारतीयको तीन चासो

नेपाल भारतका बीचमा सम्वन्ध सुध्रन नसकिरहेका बेला भारत पुगेका पूर्व प्रधानमन्त्री बाबुरामसँग भारतीयको मुख्यतः तीन विषयमा चासो रहेको देखिएको छ । बाबुरामका अनुसार, भारतका राजनीतिज्ञ र कूटनीतिज्ञले मुलतः नेपालमा राजनीतिक अस्थिरता किन देखिएको छ ? त्यसको कारण के हो ? कतै नेपालमा राजावादीहरुले उठाउन खोजेको आन्दोलनले गणतन्त्र वा लोकतन्त्रविरुद्ध जान लागेको त होइन ? भन्ने प्रश्न उठाएका छन् ।

जवाफमा बाबुरामले नेपालको निर्वाचन प्रणालीका कारण कुनै दलको बहुमत आउने स्थिती नबनेको र त्यसले छिटो छिटो सत्ता हेरफेर भईरहेको टिप्पणी गरेको बताएका छन् । भाजपा नेताहरुनै नेपालमा राजावादीलाई उक्साउन कतै लागेका त होइनन् भन्ने आशंका नेपालका नेताहरुमा पनि छ । यस बारेमा आफुले भाजपाका नेताहरुलाई प्रश्न गरेको बाबुरामको भनाई छ ।

‘मैले खुलेरै नेपालमा राजतन्त्र ल्याउन भारतीय जनता पार्टी (बीजेपी) ले सहयोग गरेको हो कि भन्ने प्रश्न छ के हो ? भनेर सोधे,’ दिल्लीमा रहेका बाबुरामले भने, ‘बीजेपी नेताहरूले त्यो होइन भनेर प्रस्ट पार्नुभएको छ ।’
बाबुरामसँग राजनाथले नै बरु नेपालमा राजतन्त्र फर्किन खोजेको हो र ? भन्ने प्रश्न गरेका थिए । बाबुरामले भने त्यस्तो नभएको जवाफ दिएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको काम गराईप्रति जनतामा असन्तुष्टि मात्र चुलिएको तर ब्यवस्थामाथीको आक्रोश असन्तुष्टि नभएको जवाफ आफुले दिएको बाबुरामले बताए ।

बाबुरामले त्यहाँ अहिलेसम्म बीजेपीका वरिष्ठ नेता एवम् भारतका रक्षामन्त्री राजनाथ सिंह,  
जनता दल युनाइटेडका नेता केसी त्यागी, बहुजन समाजवादी पार्टी राष्ट्रिय प्रवक्ता सुधीन्द्र भदौरिया, उत्तराखण्डका पूर्वमुख्यमन्त्री तथा भाजपा नेता भगतसिंह कोसियारी, विपक्षी कांग्रेस आईका सांसद तथा पूर्वमन्त्री जयराम रमेश, भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष मुरलीमनोहर जोशी,

नेपालका लागि भारतीय पूर्वराजदूतहरू श्याम शरण, राकेश सूद, रञ्जित रे, मञ्जिव सिंह पुरी एवं परराष्ट्र विज्ञहरू प्रा। एसडी मुनी, प्रा। अमिताभ मट्टु र वरिष्ठ सञ्चारकर्मी भारत भूषणलगायतसँग भेट गरिसकेका छन् ।

बाबुरामसँगको भेटमा बीजेपीका मुरलीमोहन जोशी, भगतसिंह कोस्यारीको भने नेपाललाई हिन्दु राज्य बनाउन सकिने /नसकिने विषयमा जिज्ञासा रहेको थियो । नेपालमा सांस्कृतिक एकरूपता भए राम्रो हुन्छ कि भन्ने चासो उनीहरुले देखाएको भटटराईको भनाई छ । तर बाबुरामले नेपाल धर्मनिरपेक्षतामै विश्वास गर्ने बताएका थिए ।

‘नेपालमा राजनीतिक अस्थिरता किन भइरहेको छ ? प्रमुख राजनीतिक दलबीच गठबन्धन किन फेरबदल भइरहेको छ भन्नेमा उहाँहरूले अलिक बढी जिज्ञासा देखिन्थ्यो’ बाबुरामसँगै दिल्ली भ्रमणमा रहेकी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की उपाध्यक्ष समेत रहेकी बाबुरामकी छोरी मानुषीले भनिन् ।

छोरीलाई स्थापित गराउन बाबुरामको दिल्ली दौड

बाबुराम भटटराई अहिले आफ्नी छोरी मानुषीलाई नयाँ दिल्लीका राजनीतिज्ञहरुसँग चिनापर्ची गराउने र स्थापित गराउने योजनामा छन् । त्यही क्रममा उनले विगत केही समय देखि यसको गृहकार्य समेत गरिरहेका छन् ।

दिल्लीकै जहवारलाल नेहेरु विश्वविधालय पढेकी छोरी मानुषीलाई बाबुराम आफु पछि राजनीतिमा स्थापित गराउन चाहान्छन्। पार्टीको प्रगतिशील नेपाली समाजको अधिवेशनको क्रममा भारत पुगेपनि उनको मिसन छोरीलाई भारतीय नेताहरुसँगको भेटमा स्थापित गराउने देखिन्छ । उनले मानुषीलाई आफुले गरेका हरेक भेटघाटमा सँगै राखेका थिए ।

छोरी साथ लिएर शनिबार दिल्ली पुगेका भट्टराईले पार्टीको प्रगतिशिल नेपाली समाजको अधिवेशन सकेसगै राजनीतिक र कुटनीतिक भेटघाट तीव्र बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस