आज नारायणी किनारमा कन्सर्ट

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, १२ : ४५
आज नारायणी किनारमा कन्सर्ट

युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा आज कन्सर्ट गरिँदै छ । नारायणगढस्थित नारायणी नदी किनारमा आज एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट गर्न लागेको हो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुले सह प्रायोजन गरेकोे छ ।

कन्सर्टमा चर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहने छ । कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्याण्डको प्रस्तुती रहने छ । दिउँसो ३ बजेबाट सुरु हुने कन्सर्ट राति नयाँ वर्षको स्वागत गरेसँगै सकिने छ ।

युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न युवाहरुले रुचाउने सांगितीक ब्याण्ड ल्याएर कन्सर्टमार्फत रक्तदानप्रति उत्प्रेरणा जगाउन खोजिएको आयोजकले जनाएको छ । कन्सर्टमार्फत रक्तदानको चेतना फैलाउने लक्ष्य राखिएको छ ।

साथै कन्सर्टबाट हुने आम्दानीबाट ब्लड एप्स बनाउने लक्ष्य आयोजकले लिएको छ । डेटा बेस म्यानेजमेन्ट सिस्टम राखेर एप्स बनाइने र एप्समा गएर आफूलाई चाहिएको रगत ग्रुप भएका मानिसहरु खोज्न सकिने तथा एप्सबाटै रक्तदानका लागि अपिल गर्न सकिने छ । यी लगायतका विभिन्न विशेषता समेटेर रगतको अभाव हटाउन ब्लड एप्स बनाउने योजना रहेको आयोजकले जनाएको छ । कम्तिममा १५ लाख बराबरको एप्स बनाउने तयारी गरिएको छ ।

‘म्युजिक फर ब्लड’ को नारा नै दिएर सांगितिक कार्यक्रमको तयारी यतिखेर पूरा भएको छ । एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् । केही महिनाभित्रै देशभरका रक्तदाताहरु बोलाएर रक्तदाता सम्मेलन गर्ने तयारी अभियानको छ । मिसन रेड अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलन गर्ने, १० हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २ हजार पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका करिब १०० वटा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

उक्त मिसन रेड अभियान अन्तर्गत नै कन्सर्ट हुन लागेको आयोजकले जनाएको छ । कन्सर्टमा करिब १५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टमा प्रवेशका लागि खल्ती एप मार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुबाट समेत टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएइको छ । कन्सर्ट स्थलबाट समेत टिकट खरिद गर्न सकिने छ । ६००, १२०० र ६ हजारसम्मको टिकटको व्यवस्था गरिएको छ ।

कन्सर्टमा सहभागि भई सफल पार्न आयोजकले चितवन र यस आसपासका जिल्लाबासीसहित न्यु इएर मनाउन चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आह्वान गरेको छ । सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले कन्सर्ट आयोजना गरिएकाले कार्यक्रम सफल पारिदिन आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस