काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कमान्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरूलाई तत्काल परिणाममुखी काम गर्न नसके जुनसुकै बेला कमान्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन् ।
सोमबार मुख्यालयमा निर्देशन दिँदै उनले सशस्त्र प्रहरीको बर्दी चम्काउने कि यसलाई धूमिल पार्ने भन्ने जिम्मा उनीहरूकै हातमा रहेको बताए । उनले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजश्व संकलनका लागि २४ घण्टा सक्रिय रहन निर्देशन दिँदै महानिरीक्षक अर्यालले ‘मेरो संगठन’ भनेर काम गर्न, लोभलालचमा नफस्न र संगठनको नीति नियम अनुसार काम गर्न निर्देशन दिए ।
‘देश र समाजका लागि गौरव गर्न लायक काम गर्न सक्नु भएन भने र व्यक्तिगत लोभलालचमा फस्नु भयो भने तपाईंलाई कुनै शक्तिले पनि बचाउन सक्दैन, त्यसको हेक्का राख्नुहोला’, उनले भने ।
उच्च मनोबलका साथ देखिने गरी र महसुस हुने गरी काम गर्न तथा आफूले गरेका कार्य प्रगति प्रत्येक महिना मुख्यालय पठाउन अर्यालले निर्देशन दिए ।
मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरूलाई कारबाही गर्ने चेतावनी दिँदै महानिरीक्षक अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयहरूको प्रत्येक ३/३ महिनामा कमान्डको पुनरवलोकन तथा पुनर्मूल्यांकन गरिने र त्यसमा कमजोर देखिए कमान्ड हेरफेर तथा फिर्तासम्म गरिने बताए ।
महानिरीक्षक अर्यालले समुदायलक्षित विपद् स्वयंसेवक तालिम अझ प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कार्यलाई निरन्तरता दिन तथा एक महिनाभित्र सबै कमान्डरले आफ्नो कार्ययोजना मुख्यालयमा पठाउनसमेत निर्देशन दिए ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अझ प्रभावकारी बनाउँदै लैजान तथा समुदायमा विपद् रोकथामका लागि सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै कार्य गर्न निर्देशन दिँदै महानिरीक्षक अर्यालले बर्दीको साख जोगाउन बताए ।
संगठनलाई कुनैपनि तरिकाबाट दाग लगाउने कार्य सैह्य नहुने उनको भनाइ छ । ‘राजश्व चुहावट नियन्त्रणमा निर्मम बन्न र कानूनमा जे छ सोही अनुसार गर्नुहोस् । तपाईंलाई त्यसमा कुनै अर्को विकल्प छैन, गलत मनसाय राख्नुभयो भने त्यसको प्रत्यक्ष निगरानी मुख्यालयले गर्छ । त्यसमा बढी ध्यान दिनुहोला’, महानिरीक्षक अर्यालले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन समितिले सरकारलाई निर्देशन दिनुपर्छ : अर्याल