काठमाडौं । नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो। यस वर्ष मात्र होइन विगतदेखि नै प्रहरी प्रधान कार्यालयले खरिद गर्ने लत्ताकपडामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ। यस वर्ष पनि कमिसनकै कारण गुणस्तरहीन लत्ताकपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ। ठेकेदार कम्पनीहरुले प्रहरीको प्रबन्ध शाखामा काम गर्ने कर्मचारीलाई मात्रै १० प्रतिशत कमिसन बुझाएर गुणस्तरहीन सामान बुझाउने गरेका छन्।
‘ठेकेदारले भुक्तानीको सुरु रकम जति आउँछ त्यसको १० प्रतिशत कमिसनबापत बुझाउने गरेका छन्। जुन रकम माथिसम्मै पुग्छ’, स्रोतले भन्यो, ‘यस वर्ष ७३ करोड रुपैयाँको ठेक्कामा मोबिाइलाइजेसन खर्चबापत निकासा भएको १५ करोडको १० प्रतिशत कमिसन करिब एक करोड ५० लाख रुपैयाँ ठेकेदार कम्पनीहरूले बुझाइसकेका छन्। कमिसन रकम प्रबन्ध शाखामा काम गर्ने सबै तहका प्रहरी कर्मचारीदेखि नेतृत्व तहसम्म पुग्छ।’ प्रहरी प्रधान कार्यालय चालु आर्थिक वर्ष २०७५/०७६ को बजेट खर्च शीर्षक नं २११२१ (पोसाक) मा विनियोजित रकममध्येबाट भुक्तानी भएको थियो। प्रबन्ध शाखाले सोही बजेटअन्तगर्तको २० प्रतिशत पेस्की भुक्तानी गरिसकेको छ।
‘कमिसन रकम प्रबन्ध शाखामा काम गर्ने सबै तहका प्रहरी कर्मचारीदेखि नेतृत्व तहसम्म पुग्छ।’ गत वर्ष प्रधान कार्यालयले जय सलिना इन्टरप्राइजेज र जय श्री सप्लायर्सले २१ लाख ५१ हजार जोर सर्टपाइन्टको कपडा प्रतिमिटर एक सय ८० रुपैयाँका दरले आपूर्ति गर्ने भनी प्रस्ताव गरेको बोलपत्र स्वीकृत गरेको थियो।
३८ करोड ७३ लाख ६० हजार रुपैयाँको सो ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकै बेला फेरि यस वर्ष पनि जय सलिनालाई डिएसएम बुटको ठेक्का दिइयो। सलिनाकै सेटिङमा तेजसम इन्टरप्राइजेजलाई उलन स्वेटर, क्राउन टेक्सटाइललाई कटन पाइन्ट र उलन सर्टको ठेक्का दिइयो।
गुणस्तर तथा नापतौल विभागले निर्धारण गरेको मापदण्डसमेत पूरा नगरेको र ठेक्कामा उल्लिखित सामान नै दाखिला नगरी भुक्तानी लिएको तथा गुणस्तहीन सामान आपूर्ति गरेको विषयमा अख्तियारले जयसलिनामाथि छानबिन गरिरहेको छ। नेपाल प्रहरीले भने जय सलिनालाई कमिसन संकलकको रुपमा बिचौलिया नियुक्त गरेको स्रोतको दाबी छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले तोकेको मापदण्डको डिएसएम बुट नेपालमा उत्पादन गर्न कठिन छ। तर जय सलिनाले भक्तपुरमा रहेको एभरेस्ट नेपाल फुटवेयर इन्डस्ट्रिज प्रालिमा बनाइएको बुट बुझाइएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० फागुन २०७६, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र
द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जीजम्प
संसदीय प्रक्रियामा अघि बढ्यो नेपाल प्रहरी विधेयक