काठमाडौं । नेपाल प्रहरीमा ८ महिनादेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को दरबन्दी रिक्त रहे पनि अहिलेसम्म प्रहरी प्रधान कार्यालय, नक्सालले बढुवा प्रक्रिया अघि बढाउन सकेको छैन ।
बढुवामार्फत हुने पदपूर्तिमा तीन महिनभन्दा बढी समय खाली नराख्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश भए पनि अहिलेसम्म नक्सालले प्रक्रिया अघि बढाएको छैन।गएको साउनयता विभिन्न समयमा रिक्त भएको समेत गरी अहिले इन्स्पेक्टरको ५१ दरबन्दी खाली छ ।
इन्स्पेक्टरको पदपूर्तिमा खुल्ला भर्नाबाट ६० र आन्तरिक बढुवाबाट ४० प्रतिशत हुने प्रहरी नियमावली २०७१ मा व्यवस्था छ । आन्तरिक बढुवाबाटै पदपूर्ति हुनुपर्ने रिक्त दरबन्दीको संख्या ५१ पुगेको करिब २ महिना पुग्न लाग्दा पनि प्रक्रिया अघि नबढेपछि बढुवाका आकांक्षीहरु असन्तुष्ट छन् ।
२०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएकामध्ये ४ जना अझै वरिष्ठ सईमै छन् । यसका साथै २०५८ मा असईमा भर्ना भएकाहरू अझै ९९ जना बरिष्ठ सईमै रहेकाले उनीहरू पनि बढुवाको प्रतिस्र्धामा छन् ।
अहिले प्रतिस्पर्धामा रहेका २०५८ का टोलीबाट ५ वर्षअघि नै बाँकी इन्स्पेक्टर भइसकेका थिए । यो टोलीका ८ जना २०७६ मा इन्स्पेक्टर बढुवा भएका थिए । त्यसपछि २०५८ कै टोलीका ९८ जना २०७८ सालमा र ६४ जना २०८० सालमा इन्स्पेक्टर बढुवा भइसकेका छन् ।
आफ्नै ब्याचका प्रहरीहरू ५ वर्षअघि नै इन्स्पेक्टर बन्दा समेत अहिलेसम्म यो ब्याचका ९९ जना असई बरिष्ठ सई नै छन् । त्यसमाथि उनीहरूलाई समेत उछिनेर बढुवा हुने दाउमा शक्तिशाली पीएसओहरू छन् ।जुनियर हुँदाहुँदै इन्स्पेक्टर बढुवाका लागि दबाब दिनेहरूमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मका पीएसओहरू छन् ।
विशेषगरी २०५५ र २०५८ मा असईमा भर्ना भएकाहरू अहिले इन्स्पेक्टर बढुवाको मुख्य प्रतिस्पर्धामा भए पनि यो भन्दा दुई ब्याच जुनियर २०६० मा असईमा भर्ना भएकाहरूले शक्तिकेन्द्रमार्फत निरन्तर दबाब दिएपछि इन्स्पेक्टर बढुवा पेचिलो बनेको प्रहरी स्रोत बताउँछ ।
२०६० मा असईमा भर्ना भएको जुनियर टोलीका केही बरिष्ठ सईहरू अहिले शक्तिशाली नेताका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) छन् । उनीहरूकै कारण बढुवा रोकिएको मानव स्रोत विभागका एक अधिकारीले बताएका छन् ।
यी हुन् हेडक्वार्टरलाई दबाब दिने शक्तिशाली पीएसओ
जुनियर हुँदाहुँदै इन्स्पेक्टर बढुवाका लागि दबाब दिनेहरूमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मका पीएसओहरू छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा गार्डको रूपमा लामो समयदेखि कार्यरत बरिष्ठ सई विजय श्रेष्ठ २०६० मा भर्ना भएका असई हुन् ।
उनी आफूभन्दा दुई वर्ष सिनियर करिब १०० जनालाई उछिन्दै जसरी पनि बढुवा हुने दाउमा लविइङ गरिरहेका छन् ।उनी २०६४ मा सई बढुवा भएका थिए । त्योभन्दा पहिले २०६२ र २०६३ मा सई भएकाहरूलाई समेत उछिनेर उनी इन्स्पेक्टर बन्ने दाउमा लविइङ गरिरहेका छन् ।
श्रेष्ठ जस्तै प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार कार्यरत बरिष्ठ सई दीपक बराल पनि २०६० का असई हुन् । उनी पनि आफूभन्दा सिनियर टोलीका सईहरूलाई उछिनेर बढुवा हुने लाइनमा छन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सुरक्षा गार्ड रोशन शाह पनि २०६० कै असई हुन् । उनी २०६४ मा सई भएका थिए । उनी पनि आफूभन्दा सिनियर टोलीलाई रोक्दै बढुवा हुन दबाब दिइरहेको प्रहरी हेडक्वाटरको बुझाइ छ ।
देउवा पत्नी एवम् परराष्ट्र मन्त्री आरजु राणाको पीएसओ हुन् बरिष्ठ सई रश्मी सिलवाल । आफ्नो ब्याचका सिनियरलाई मात्रै नभएर उनी आफूभन्दा दुई वर्ष सिनियर सईहरूलाई समेत उछिनेर इन्स्पेक्टर बन्न दबाब दिइरहेकी छिन् । सिलवाल पनि २०६० कै असई हुन् ।
बढुवा नै रोक्न अर्का शक्तिशाली पात्र हुन् बरिष्ठ सई रमेशबहादुर पाण्डे । २०६० का असई उनी अहिले गृहमन्त्री रमेश लेखकको पीएसओ छन् । गृहमन्त्रीकै पीएसओ भएकाले यसको फाइदा उठाउँदै उनी यो पटक आफूभन्दा सिनियर टोलीलाई उछिनेर इन्स्पेक्टर बढुवा दबाब दिने गरेको प्रहरी स्रोत बताउँछ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पीएसओ रहेका मनोज दियाल पनि जुनियर बरिष्ठ सई हुन् । उनले पनि बढुवाका लागि चर्को दबाब दिएको स्रोत बताउँछ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको भतिज नाता पर्ने विजय राई पनि दबाब दिनेमा पर्छन् ।
यसबाहेक २०६० मै असई भर्ना भएर २०६६ सालमा सई भएका कांग्रेस नेता पूर्णबहादुर खड्काका पीएसओ रोशन थापा, प्रेम राईकै पीएसओ सनम राई, अर्थ मन्त्री विष्णु पौडेलका पीएसओ मानबहादुर अधिकारी पनि जुनियर हुँदाहुँदै जसरी पनि बढुवा हुने लविइङमा छन् । जसकारण लामो समयदेखि इन्स्पेक्टरको दरबन्दी रिक्त भए पनि बढुवा हुन सकेको छैन ।
चाँडै बढुवा गर्ने हेडक्वाटरको दाबी
भर्खरै अवकाशमा गएका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले जुनियर शक्तिशाली पीएसओका कारण इन्स्पेक्टर बढुवा गर्न सकेनन् । लामो समयसम्म इन्स्पेक्टरको दरबन्दी खाली राख्दै उनी अवकाशमा गए ।
अवकाशमा जान लागेका महानिरीक्षक कुँवरले बढुवा गर्दा तुलात्मक रुपमा पारदर्शी हुने भन्दै कतिपयले प्रक्रिया थाल्न सुझाएका थिए । तर, कुँवरले त्यसतर्फ ध्यान दिएनन् ।नवनियुक्त आईजी दीपक थापाले भने ५ चैतमा गृहन्त्रालय सिंहदरबारमा आईजीपीको दर्ज्यानी चिह्न लगाएपछि बढुवा न्यायोचित बनाउने उद्घोष गरेका थिए । कार्य क्षमताको उचित मूल्यांकन गरिने बताउँदै उनले वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको दुखः पीडाभोग्न नपरोस् भन्ने तर्फ हरदम सजग रहने बताएका थिए ।
पहुँचको हैन पद्धतिको थिति बसाल्न आफू हरहमेशा प्रयत्नशील रहने उनको भनाइ थियो । यस्तोमा नयाँ संगठन प्रमुख थापाको परीक्षा इन्स्पेक्टर बढुवामा हुने अधिकृतहरु बताउँछन् ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्य भने प्रक्रियागत रूपमा हुने भएकाले सोही अनुसार नियमित बढुवा हुने बताउँछन् । मानवस्रोत विभागका अधिकारीहरुले भने चाँडै बढुवा गर्ने तयारी भइरहेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जीजम्प
संसदीय प्रक्रियामा अघि बढ्यो नेपाल प्रहरी विधेयक
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार : गृहमन्त्री लेखक
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति?
नेपाल प्रहरीका ८ जना डिआइजीमा बढुवा गर्न सिफारिस
प्रहरी महानिरीक्षक कुँवरद्वारा केन्द्रीय प्रहरी परिचालन कक्षको उद्घाटन