कला र संगीतलाई एआईसँग जोडेर प्रविधिमैत्री पाठ्यक्रम बनाइँदै

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०८२, १५ : ५१
कला र संगीतलाई एआईसँग जोडेर प्रविधिमैत्री पाठ्यक्रम बनाइँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँग मिलेर प्रविधिमैत्री संगीतसम्बन्धी पाठ्यक्रम बनाउने भएको छ । कला र संगीतलाई समेत प्रविधिमैत्री बनाउन भन्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग जोडेर पाठ्यक्रम बनाउन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशक विनोद जोशीले एआई प्रविधिलाई संगीतमा जोड्न खोजिएको बताए । त्यसले कला, साहित्य र संगीत क्षेत्रमा नयाँ आयाम थपिने बताए ।

‘संसारभर आईटीको प्रभाव बढ्दो छ । त्यसलाई संगीत क्षेत्रमा समेत प्रयोग गरेर प्राज्ञिक रूपमा सिर्जना गर्न सकिन्छ भन्ने हाम्रो प्रयत्न हो,’ जोशीले भने ।त्यसका लागि त्रिविका ललितकला केन्द्रीय विभाग, पत्रकारिता तथा आम सञ्चार विभाग लगायतका विभागसँग मिलेर पाठ्यक्रम बनाउन लागिएको हो ।

एआई र संगीत (मनोरञ्जन) कलाको भविष्यलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा गत शनिवार कार्यक्रम भएको थियो । जरसिंहपौवामा आयोजित पिकनिक कार्यक्रममा संगीतको क्षेत्रमा नयाँ आयाम दिने, प्राज्ञिक रूपमा नयाँ पाठ्यक्रम बनाउने विषयमा छलफल आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू, अधिकारीहरू, केसीजीआईका प्रोफोसरहरू कला संगीत, आईटी तथा पत्रकारिता तथा आमसञ्चार अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।कार्यकारी निर्देशक जोशीले उक्त पाठ्यक्रम निर्माणमा विभिन्न देशका प्राध्यापकहरू संलग्न रहेको बताए ।

‘आईटी र आर्टलाई एआईसँग जोड्न सकिन्छ । संगीत र कलाको क्षेत्रमा समेत एआईलाई प्रयोग गर्न सकिन्छ । हाम्रो परम्परागत ढंगबाट चलिरहेको पाठ्यक्रमलाई एआईसँग जोड्न सकियो भने विश्वमा नयाँ ढंगको पाठ्यक्रम निर्माण गर्न सकिन्छ,’ जोशीले भने ।

थुप्रै विश्वविद्यालयहरू मिलेर यो कार्यक्रमलाई अगाडि बढाउन सकिने उनको भनाइ छ ।काम गर्दै जाँदा देखिने चुनौतीहरूको सामना गर्न प्रविधि क्षेत्रका विद्यार्थीहरूलाई जोडेको र उनीहरूले सहयोग गर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयमा आईटी पढ्दै गएका विद्यार्थीहरूलाई यो कार्यक्रममा समावेश गरिएको छ । प्राविधिक क्षेत्रमा पढ्दै जाने भएकाले त्यसमा हुने कमीकमजोरी उनीहरूले नै पत्ता लगाउने विश्वास लिइएको छ । नेपालमा आईटीलाई प्रविधिको क्षेत्रमा मात्र नभई संगीतको क्षेत्रमा प्रयोग गर्न सकिन्छ भनेर एआईलाई संगीतसँग जोड्न लागिएको उनको भनाइ छ ।

यसका लागि जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्सको प्रोफोसर आनन्द नेपालको प्रमुख भूमिका रहेको छ । यो पाठ्यक्रम समेत केसीजीसँग नै मिलेर बनाउन लागिएको हो । बिस्तारै अन्य विश्वविद्यालयलाई समेत समावेश गर्न सकिने उनको भनाइ छ । यसमा पश्चिममा संगीत, नेपाली संगीत तथा अन्य देशका संगीतलाई मिलाउँदै जाने भन्ने छ ।

संगीतको ज्ञान दिने क्रममा प्रविधिको समेत प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्य रहेको बताउँदै उनले भने, ‘संगीत देशको सीमाभित्र रहने विषय होइन । संगीत भनेको संसारभरी सबैका लागि सबैले बुझ्ने सामान्य भाषा हो । त्यसकारण यसमा आईटीलाई समेटेर नयाँ किसिमको संगीत र कलाको क्षेत्रलाई अगाडि बढाउन खोजेका हौँ ।’

केसीजीआईका प्रोफेसर नेपालले कलालाई प्रविधिसँग जोड्न खोजिएको बताए । त्यसका लागि त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न लागेको उनको भनाइ छ ।नेपाली कला संगीत संस्कृतिलाई विश्व बजारमा पाठ्यक्रमको रूपमा विकास गर्ने उद्देश्य रहेको नेपालले बताए ।

‘नेपाली विद्यार्थीहरू मेरो कलेजमा धेरै पढ्छन् । ती विद्यार्थीहरू ननआईटी फिल्डबाट जानुपर्ने भएकाले आईटीमा पनि इन्टरटेन्टमेन्टको फिल्डमा गएर भविष्य बनाउन सकिन्छ भन्ने उदाहरण दिन खोजेका छौँ । त्यसका लागि त्रिविसँग सहकार्य गर्न खोजेका हौँ,’ प्रोफेसर नेपालले भने ।

आईटी विना कुनै विषयवस्तु जोड्न नसकिने बताउँदै आईटीबिनाको कुनै पनि इन्डिस्ट्रीको कल्पना पनि गर्न नसकिने बताए । अहिलेको जेड जेनेरेशनमा एआई तथा डाटाको जेनेरेशन रहेको बताउँदै यसले हरेक कामलाई डिजिटलाइजेशन गर्ने बताए । आईटीसँग संगीतलाई जोडेर पाठ्यक्रम बनाउन लागिएको उनको भनाइ छ ।

‘जसले गर्दा एउटा मादल बजाउने मान्छेले मात्रै पनि इन्डस्ट्री रन गर्न सक्छ । प्राज्ञिक र पाठ्यक्रमको माध्यमबाट नेपाली कला, संगीतलाई विश्व बजारमा चिनाउन सकिन्छ,’ प्रोफेसर नेपालले भने ।

त्रिविमा मास्टर डिग्री यो पाठ्यक्रम पढाई हुनेछ । जसमा नन आईटीका विद्यार्थीले समेत संगीतसँगै आईटी समेत पढ्न पाउने छन् । आईटी नपढेकोलाई म्युजिक पढ्दा आईटीमा जोडिन सजिलो होस् भनेर यस्तो पाठ्यक्रम बनाउन लागिएको बताए ।

द कोतो कलेज अफ ग्रेजुएट स्टडी फर इन्फरमेटिक्स (केसीजीआई) की प्रोफेसर निन्जा मेल्सले केसीजीआई र त्रिभुवन विश्वविद्यालयबिच जोडिएर कार्यक्रम गर्न लागिएको बताइन् । यसले संगीत पढ्ने विद्यार्थीहरूलाई आईटीसँग जोड्न सहयोग हुने उनको भनाइ छ । नेपाली विद्यार्थीहरूले अहिलेपनि जापानमा आफ्नो क्लास लिइरहेको बताइन । उनीहरूलाई जापानको कल्चरबारे थाहा भएको तर, जापानका विद्यार्थीलाई नेपाली कला साहित्य तथा संगीतबारे धेरै ज्ञान नभएको बताइ । अहिलेको नयाँ पाठ्यक्रमले नेपालको कला साहित्यबारे समेत पढ्न पाउने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस