लागुऔषध सहित दुई पक्राउ

रासस

आइतबार, ०८ मंसिर २०७६, १० : ०३
लागुऔषध सहित दुई पक्राउ

File photo

लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले शनिबार राति जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनियाका अमरेश यादव र  पङ्कज यादवलाई पक्राउ गरेको हो ।

भारतीय बजारतर्फबाट स१०प ६१९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई जाँच गर्दा लागुऔषध नोफिन १० एम्पुल, डाइजिल्याप १० एम्पुल, प्रोमेथाजिन १० एम्पुल बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यसैगरी अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा सिरहा प्रहरीले सिरहा नगरपालिका–६ बसबिट्टाबाट चार पशुचौपाया बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका चार गोरु बरामद गरेको हो ।

त्यसैगरी सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानमा करीब तीन हजार गाँजा बोट नष्ट गरेको छ । प्रहरी चौकी सन्हैठाले सिरहा नगरपालिका–२२ सन्हैठामा स्थानीयवासीले लगाएको दुई हजार ५ सय बोट तथा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–२२ डाँडाटोलमा १ सय  बोट गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ । (रासस)