अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन

एजेन्सी

आइतबार, ०७ बैशाख २०८२, ११ : ०४
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन

काठमाडौं । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको विरोधमा हजारौँ प्रदर्शनकारी फेरि एकपटक सडकमा उत्रिएका छन् । न्युयोर्क टाइम्सका अनुसार यी प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यमा भएका थिए ।

प्रदर्शनकारीहरू ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी नीति र सरकारी जागिरबाट गरिएको कटौतीको विरोध गरिरहेका थिए।यस क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई घेरेका छन् । उनीहरूले ट्रम्पमाथि नागरिक अधिकार र कानुनी शासनमाथि हमला गरेको आरोप लगाएका छन् । यस आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ, जसको अर्थ हो: ५० विरोध प्रदर्शन, ५० राज्य, १ आन्दोलन।

प्रदर्शनकारीहरूले ह्वाइट हाउससँगै टेस्लाका शोरूमहरू पनि घेराबन्दी गरेका छन् । ट्रम्पको विरोधमा गरिएको यो दोस्रो चरणको प्रदर्शन हो। यसअघि अप्रिल ५ मा पनि देशभर व्यापक प्रदर्शन भएका थिए।ह्वाइट हाउसबाहिर ट्रम्पविरुद्ध पोस्टर लिएर विरोध गरिरहेकी एक महिलाको हातको पोस्टरमा लेखिएको थियो, ‘ट्रम्पलाई अल सल्भाडोरको जेलमा डिपोर्ट गर।’

ट्रम्प र मस्कका नीतिहरूविरुद्ध भइरहेका छन् प्रदर्शनहरू

राजधानी वासिङ्टन डीसीसहित सबै राज्यहरूमा प्रदर्शनको मुख्य कारण राष्ट्रपति ट्रम्प र व्यवसायी इलन मस्कको आक्रामक नीति हो। इलन मस्कको दक्षता विभागले लगातार सरकारी निकायहरूमा कर्मचारी कटौती गरिरहेको छ।

अहिलेसम्म हजारौँ सरकारी कर्मचारीहरूलाई जागिरबाट निकालिएको छ। अर्कोतर्फ, ट्रम्पको आप्रवासीहरूविरुद्धको कडा कारबाही र अन्य देशहरूमाथि भन्सार शुल्क (कर) लगाउने नीति पनि विरोधको मुख्य कारण हो।

ट्रम्पको भन्सार शुल्क युद्धका कारण अमेरिकामा अन्य देशहरूबाट आउने वस्तुहरूको मूल्य बढेको छ। यसको सिधा असर आम नागरिकको खर्चमा परेको छ।अर्का प्रदर्शनकारीले पोस्टरमा लेखिएको थियो, ‘ट्रम्प फोहोरले भरिएको छन्। ट्वाइलेटहरू उनलाई देखेर जलिरहेका छन्।’

देशव्यापी प्रदर्शन, हजारौँ प्रदर्शनकारीको नारा– ‘लाज मान’

देशभर विशाल प्रदर्शन भएको दुई सातामै पुनः यति ठूलो प्रदर्शन हुनु ट्रम्पविरुद्धको प्रतिरोध अझै बलियो रहेको संकेत भएको न्युयोर्क टाइम्सले लेखेको छ ।वासिङ्टन र सिकागोजस्ता केही सहरमा यसपटकको सहभागिता अप्रिल ५ का तुलनामा थोरै देखिए पनि प्रदर्शन व्यापक थियो।

राजधानी वासिङ्टन डीसीमा शनिबार केही हजारले मार्च गरे, जबकि अघिल्लो प्रदर्शनमा त्यहाँ दशौँ हजार सहभागी थिए। आयोजक समूह आन्दोलनकारीहरूका अनुसार शनिबार फ्लोरिडाको ज्याक्सनभिलदेखि लस एन्जलससम्म ७०० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिएका थिए। न्यूयोर्कको म्यानह्याटनमा भने म्याडिसन एभेन्यूका १५ ब्लक प्रदर्शनकारीहरूले भरिएका थिए।

प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पमाथि नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि कुल्चिएको, आप्रवासन नीति, संघीय जागिर कटौती, आर्थिक संकट लगायत विषयमा गम्भीर आरोप लगाए।ह्वाइट हाउसबाहिर प्रदर्शनमा सहभागीहरू बारम्बार एउटै शब्द चिच्याइरहेका थिए– ‘लाज मान!’

वासिङ्टन मोनुमेन्टदेखि हजारौँ मानिसहरूले मार्च गरे। धेरैले मेरील्यान्डका किल्मार आर्मान्डो अब्रेगो गार्सियालाई गलत रूपमा अल सल्भाडोर डिपोर्ट गरिएको भन्दै प्रशासनको आलोचना गरे।

उनीहरू अमेरिकन झन्डालाई उल्टो फर्फराउँदै, ‘किल्मारलाई घर फर्काऊ’ भन्दै आठ लेनको कन्स्टिट्युसन एभेन्यू हुँदै अघि बढेका थिए ।ट्रम्प प्रशासनले गार्सियालाई कुख्यात एमएस-१३ गिरोहको सदस्य भनेको छ, जुन आरोप उनले अस्वीकार गरेका छन्।

प्रदर्शनमा ‘फ्री गार्सिया’ लेखिएको पोस्टर बोकेर उभिएकी मेरील्यान्ड निवासी जुलिया फाइनले न्युयोर्क टाइम्ससँग भनिन्, ‘उहाँलाई राखिएको अल सल्भाडोरको जेल हो– जुन मलाई नाजी कालका कन्सन्ट्रेसन क्याम्पजस्ता लाग्छ।’उनले थपिन्, ‘यतै तिर अघि बढ्दैछ यो देश ।’

न्युयोर्कदेखि सिन्सिनाटी र शिकागोसम्म प्रदर्शनहरूमा गार्सियाको मुद्दाबारे चासो सुनियो।

६४ वर्षका इन्जिनियरिङ्ग फर्मका म्यानेजर ब्यारी क्निटलले भने, ‘यो अन्याय हो। र मलाई लाग्छ, यो त अझै सुरु हो।’

प्रदर्शनको क्रममा भीडले भन्यो, ‘जुटेका नागरिक कहिले पनि पराजित हुँदैनन् ।’

पर्यटक बोकेको डबल डेकर बसहरूले समर्थन जनाउँदै हर्न बजाउँदा भीडले खुसी प्रकट गरेको थियो ।

 वासिङ्टनमा सहभागी आरोन बर्कका अनुसार उनकी प्रेमिकाले ऊर्जा मन्त्रालयबाट सरकारले दिएको स्वेच्छिक अवकाश लिएपछि उनी प्रदर्शनमा सहभागी भएका थिए।

‘म चिन्तित छु कि सरकारले बिना प्रक्रिया डिपोर्ट मात्र होइन, अमेरिकी नागरिकहरूलाई समेत जेल हाल्न थाल्नेछ,’ उनले थपे, ‘म चाहन्छु मेरी छोरी सुरक्षित होस्, उनी ट्रान्सजेन्डर हुन्। अल्पसंख्यकलाई मानवीय ढंगले व्यवहार गर्नुपर्ने हो।’

केही प्रदर्शनकारीहरूले देश नै गुमाउन लागेको र आफूहरू नाति नातिनाको भविष्यको लागि सडकमा आएको बताएका छन् ।

३५ वर्षीया सामाजिक कार्यकर्ता आन्द्रेआ म्यालोरीले भनिन्, ‘यो कार्यक्रम हाम्रो लागि समुहगत थेरापीजस्तै हो। मानसिक रूपमा राहत मिल्यो।’

क्रान्तिको सम्झनामा उठेका विरोधका स्वर

कन्कर्ड, म्यासाचुसेट्समा अमेरिकी क्रान्तिको २५०औँ वर्षगाँठ मनाइँदै गर्दा केहीले इतिहाससँग अहिलेको तुलना गरे।

६५ वर्षीय कोनान वाल्टर पुरानो नर्थ ब्रिजमा उभिएर ठूलो पोस्टर उठाइरहेका थिए, ‘अब फासिवाद अन्त्य गर ।’

उनले थपे, ‘यो समारोह निरंकुशतन्त्र (राजतन्त्र) को अत्याचारविरुद्धको विद्रोह सम्झनाका लागि हो, त्यही किसिमको शासन आज फर्कने कोसिस गरिरहेको छ। हामीले चुनौती स्वीकार गर्नुपर्छ।’

तर कन्कर्डमा सबै विरोध गर्न आएका थिएनन्।

७८ वर्षीया ट्रम्प समर्थक वकिल डेबोरा बकनम भने अमेरिकी इतिहासको सम्मान गर्न आएकी थिइन्।

उनले भनिन्, ‘राजनीतिक मतभेदले यस्तो ऐतिहासिक क्षणलाई ढाक्न हुँदैन। तर विरोध गर्न पाउनु अमेरिकी अनुभवको हिस्सा हो।’

उनले थपिन्, ‘प्रदर्शन सबैको अधिकार हो।’

ट्रम्पको कामबाट ४५ मतदाता सन्तुष्ट

अमेरिकी सर्वेक्षण संस्था ग्यालपका अनुसार ट्रम्पको दोस्रो कार्यकालको सुरुवाती तीन महिनामा ४५ प्रतिशत अमेरिकी मतदाताहरू उनीप्रति सन्तुष्ट देखिएका छन् । जबकि उनको पहिलो कार्यकालको तीन महिनामा मात्र ४१ प्रतिशत मतदाताहरू सन्तुष्ट थिए।

यद्यपि, यो दर अन्य राष्ट्रपतिहरूको तुलनामा निकै कम हो। सन् १९५२ देखि २०२० सम्म सबै राष्ट्रपतिहरूको पहिलो त्रैमासिकको औसत रेटिङ ६० प्रतिशत रहेको छ। यसको तुलना गर्दा ट्रम्पको रेटिङ न्यून देखिन्छ।

ग्यालपका अनुसार ट्रम्पले पदभार सम्हाल्दा उनको लोकप्रियता ४७ प्रतिशत थियो, जुन अहिले घटेको छ।

-एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस