उर्जा राज्यमन्त्री बर्खास्त गर्नु अघि प्रधानमन्त्रीको परराष्ट्रमन्त्रीसँग फोन सम्वाद

सफल खबर संवाददाता

विहीबार, ११ बैशाख २०८२, ०८ : ४३
उर्जा राज्यमन्त्री बर्खास्त गर्नु अघि प्रधानमन्त्रीको परराष्ट्रमन्त्रीसँग फोन सम्वाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो मन्त्रिपरिषद्का सन्दर्भमा बुधबार दुई महत्वपूर्ण निर्णय लिए । पहिलो शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्ती गर्ने र दोस्रो उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गर्ने ।

आफ्नै प्रधानमन्त्रीले निरन्तर असहयोग गरेपछि शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामाका बारेमा क्याबिनेट बैठकमा समेत मुख नखोलेका प्रधानमन्त्रीले बुधबार भने मन्त्रिमण्डल हेरफेर गरिएको पत्र राष्ट्रपति कहाँ पठाएर शिक्षामन्त्रीमा रघुजी पन्तको नियुक्तिको नाम पठाएका थिए ।

उर्जा राज्यमन्त्री कान्छारामलाई भने बर्खास्त गरिएको सूचना गृहमन्त्री रमेश लेखकमार्फत गराएका थिए ।

कुलमान घिसिङ हटाउन प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री दिपक खड्काले चालेको कदममा राज्यमन्त्री कान्छारामले सुरु देखि नै विमति राख्दै आएका थिए । त्यसपछि राज्यमन्त्री कान्छारामले गत २८ चैतमा आफू प्रमुख अतिथि भएको कार्यक्रम सचिव सुरेश आचार्यले बहिष्कार गरेको भनी २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

जलस्रोत तथा सिँचाइ विभागको कार्यक्रममा उद्घोषकले आसनग्रहण गर्न बोलाउँदा सचिव कार्यक्रम स्थल पुगेपनि मञ्चमा राज्यमन्त्री प्रमुख अतिथि देखेपछि मञ्चमा नगई कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।

त्यसमा  ऊर्जा राज्यमन्त्रीले मन्त्रीलाई स्पष्टीकरण सोध्न पटक पटक आग्रह गरेपनि मन्त्रीले नमानेपछि आफै अगाडी सरेर स्पष्टिकरण सोधेका थिए । यधपी सचिव  आचार्यले जवाफ बुझाएका थिएनन ।

त्यस्तै, प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाएको बैठकमा समेत तामाङले प्रधानमन्त्रीले बनाएको कार्ययोजनासँग असहमति जनाएका थिए । प्रधानमन्त्रीले ३ करोडभन्दा कम रकमका आयोजनामा बजेट विनियोजन गर्न नपाइने बताउँदा राज्यमन्त्री तामाङले आफ्नो गृहजिल्ला रामेछापमा २० लाख रुपैयाँसम्मका आयोजना पनि आवश्यक रहेको बताएका थिए ।

निरन्तर फरक मत राख्न थालेपछि उनलाई सरकारी निर्णयको बचाउ गर्न नसकेको भन्दै प्रधानमन्त्रीले बर्खास्तगी गर्ने निर्णय लिएका हुन् ।

निर्णय अगाडी प्रधानमन्त्री ओलीले उनलाई माफी मगाउन खोजेका थिए । त्यसका लागि गृहमन्त्री रमेश लेखकसँग कुरा गर्न आग्रह समेत गरेका थिए । कुलमान प्रकरणमा निरन्तर प्रधानमन्त्री र मन्त्रीसँग मत बझाउन थालेदेखि नै उनलाई प्रधानमन्त्रीले माफी मगाउन खोजेका थिए । त्यसबारेमा परराष्टमन्त्री समेत रहेकी डा आरजु राणा देउवासँग पनि उनले कुरा गरेका थिए ।

आरजु राणाले उनलाइृ प्रधानमन्त्री खुबै रिसाएको भन्दै माफी माग्न पहिले पनि एकपटक आग्रह गरेकी थिइन् । तर कान्छारामले माफी नमाग्ने अडान कायमै राखे । शिक्षामन्त्री फेर्न पर्ने बाध्यतामा रहेका ओलीले त्यही मौकामा कान्छारामलाई पनि हटाउने योजना बनाए ।

त्यसपछि उनले बुधबार बिहान बैंककमा रहेकी परराष्टमन्त्री डा आरजु राणासँग टेलिफोन गरी कान्छारामलाई बर्खास्तगी गर्ने विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस