तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०८२, १५ : ४१
तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ

काठमाडौं। काठमाडौंको तीनकुनेमा गएको चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनमा सहभागी भई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ६ नयाँवस्तीका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

रायमाझी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन्। तीनकुनेमा आगजनी एवं तोडफोड घटनामा संलग्न भएको आरोपमा रायमाझसहित ७४ जना थुनामा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेरसहित १० जना भने हाजिर जमानीमा छुटेका छन् ।