काठमाडौँ। राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शिक्षा मन्त्रालयप्रति आफ्नो रुचि र विज्ञता दुवै नभएको बताएकी छन्। सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा डा.शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चारमाध्यममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन् ।
उनले भनेकी छन्- ‘म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । यो विषयमा मैले नबोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो । तर, मेरा शुभचिन्तक, मसँग सरोकार राख्ने र आफन्तहरूमा समेत यही भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु ।’
उनले आफू भर्खरै अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको भन्दै उनले तत्कालका लागि यही जिम्मेवारी निर्वाह गर्ने बताइन् । ‘अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने हो, राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले अहिले ऐन कानुन बनाउने हो’, उनले भनिन्, ‘त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिबद्ध छु ।’
उनले केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको शंका समेत गरेकी छन् । ‘गलत स्वार्थसहित फैलाइएको भ्रमको पछि नलाग्न म अनुरोध गर्दछु,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, ११ : १९
लेखकबाट थप