एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, ११ : ५१
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स

काठमाडौं । एलन मस्कले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ आफ्नै एआई कम्पनी एक्सएआईलाई बिक्री गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले ३३ अर्ब अमेरिकी डलर बराबरको मूल्यमा एक्स कम्पनी आफ्नै अर्को कम्पनी एक्सएआईलाई बेचेका हुन् ।

मस्कका अनुसार, यो सम्झौताले एक्सएआईको विशेष क्षमता र एक्सको प्रयोगकर्ता एक ठाउँमा ल्याएर नयाँ सम्भावनाको खोजी गरिनेछ ।हाल एक्सएआईलाई बिक्री गरिएको एक्सलाई मस्कले २०२२ मा ४४ अर्ब डलरमा खरिद गरेका थिए । त्यसयता उनले कम्पनीमा व्यापक परिवर्तन गरे । जसमा कर्मचारी कटौती, नीति पुनःनिर्माण र ब्रान्ड पुनःस्थापना समावेश छन् ।

एक्सएआईले पहिले नै एक्सका प्रयोगकर्ताका पोस्टहरू प्रयोग गरेर आफ्नो एआई मोडेल प्ररीक्षण गरिरहेको थियो। एक्सले केही प्रयोगकर्ताहरूलाई एक्सआई द्वारा विकसित च्याटबट ग्रोक प्रयोग गर्ने सुविधा प्रदान गरिरहेको छ ।

मस्कका अनुसार, यस सम्झौताले प्रयोगकर्तालाई अझ प्रविधिमैत्री बन्न सहयोग गर्नेछ । निकट भविष्यमा एक्समा एक्सएआई प्रविधि अझ बढी समावेश हुनसक्ने उनको भनाइ छ ।

प्रविधिविद्हरुले भने मस्कको यो कदमलाई सामाजिक सञ्जाल र एआईको संयोजन गर्ने दीर्घकालीन रणनीति भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस