दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०८१, ०७ : १०
दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी । दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। 

दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै भारतसँगके उपाधि भिडन्त पक्का गरेको हो। 

न्युजिल्यान्डले दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १२ रन मात्र बनाउन सक्यो। 

दक्षिण अफ्रिकाका डेविट मिलरले शतकिय पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ६७ बलमा १० चौका र ४ छक्का सहयोगमा शतक बनाउँदै अविजित रहे। 

रसि भान डेर डुसेन ६९ रन बनाउँदा बोल्ड आउट हुन पुगे। कप्तान टेम्बा बभुमा ५६ रनमा क्याच आउट भए। एडेन मक्रमले ३१ र रायन रिकेल्टोनले १७ रन थपे। 

न्युजिल्यान्डका मिचेल सान्टनरले ३ विकेट लिए। म्याट हेन्री र ग्लेन फिलिप्सको नाममा समान २ विकेट रह्यो। 

त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको न्युजिल्यानडले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६२ रनको योगफल तयार पारेको थियो। 

न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतक पूरा गरे। रविन्द्रले १ सय १ बलमा १३ चौका र १ छक्का सहयोगमा १ सय ८ रन बनाउँदा क्याच आउट भए। 

९४ बलमा १० चौका र २ छक्का प्रहार गरेका विलियम्सन १ सय २ रन बनाउँदा क्याच आउट भए। डेर्ली मिचेल ४९ रनमा क्याच आउट नै हुन पुगे। ग्लेन फिलिप्स ४९ रनमा अविजित रहे। विल योङले २१ र माइकल ब्रासवेलले १६ रन थपे। 

न्युजिल्यान्डले अब उपाधिका लागि आइतबार भारतविरुद्ध युएईमा खेल्नेछ।