काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा

सफल खबर संवाददाता

सोमबार, २५ चैत्र २०८१, १४ : १४
काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको छ । 

महानगरको कर्मचारीले पाउन बाँकी रहेको ३ महिनादेखि ६ महिनासम्मको तलब पाएको महानगरका प्रवक्ता नवीन मानन्धरले खबरहबलाई जानकारी दिएका छन् । 

महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको मानन्धरले जानकारी दिएका छन् । महागरको २९ सय व्यक्तिलाई ११३ करोड रुपैयाँ भुक्तानी गरेको मानन्धरले जानकारी दिएका छन् । 

काठमाडौं टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ३ महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो । 

मेयर बालेनले पटक पटक संघीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत पठाएको थिएन । संघीय सरकारले गुरागाईंलाईनै काम गर्न दिनु भन्दै बालेनलाई भनेको थियो । 

यता कर्मचारी र जनप्रतिनिधिले भने गत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई जबर जस्ती कार्यालय प्रवेश गराएका थिए । कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै गुरागाईँले २२ गते शुक्रबार खर्च निकासा गरेका थिए । 

शनिवार र आइतबार सार्वजनिक बिदा भएकाले गर्दा कर्मचारीहरूको खातामा आज सोमबार मात्र तलब आएको हो ।