रुपन्देही । वि.सं. २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबिच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।
नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्री वितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनी कार्यविधि पनि बनायो ।
सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा समेत गम्भीर असर पर्ने देखिएको उल्लेख गरिएको छ ।
गुट्खाजन्य पदार्थको बिक्री वितरण कार्यको अनुगमनका लागि सो कार्यविधिको दफा ६ को उपदफा १ मा नगरस्तरीय अनुगमन समितिमा नगर उपप्रमुख संयोजक रहने गरी आर्थिक विकास समिति संयोजक, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक, राजस्व शाखा संयोजक, नेपाल प्रहरीका स्थानीय प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, चेम्बर अफ कमर्सका प्रतिनिधि, उद्योग व्यापार सङ्गठनका प्रतिनिधि र नगर प्रहरी इन्चार्ज सदस्य रहेको अनुगमन समिति रहने भनी उल्लेख छ ।
यसैगरी, दफा ७ को उपदफा १ मा टोलस्तरीय अनुगमन समिति वडाध्यक्ष संयोजक रहने गरी वडाध्यक्षले तोकेको वडा सदस्यमध्येबाट एक वडा सदस्य, टोल विकास सञ्जालका अध्यक्ष, वडा बाल सञ्जाल प्रतिनिधि, क्लब, सङ्घसंस्था, आमा समूहमध्येबाट तीन, स्वास्थ्य संस्थाबाट दुई जना, नेपाल प्रहरीका स्थानीय प्रमुख प्रतिनिधि र वडा सचिव रहने भनी उल्लेख गरिएको छ ।
सो कार्यविधिको दफा ४ को उपदफा १ मा जरिवानासमेत तोकिएको छ । पहिलो पटक गुट्खाजन्य पदार्थको बिक्री वितरण गरेको भेटिएमा थोक बिक्रेताका लागि रु १० हजार र अन्य व्यवसायीका लागि रु एक हजार ५०० जरिवाना तोकिएको छ ।
त्यस्तै दोस्रो पटक थोक बिक्रेताका लागि रु २० हजार र अन्य व्यवसायीका लागि रु दुई हजार रकम जरिवाना तोकिएको छ भने तेस्रो पटक पनि भेटिएमा थोक बिक्रेताका लागि रु ५० हजार र अन्य व्यवसायीका लागि रु पाँच हजार रकम जरिवाना तोकिएको सो कार्यविधिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ चैत्र २०८१, १५ : २३
लेखकबाट थप