काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाउने बताएका छन् । सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन् ।
यसैगरी निर्माण स्थलहरूमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए । काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको भन्दै मन्त्री दाहालले वैकल्पिक सडकको रूपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।
यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरी लगायतका निकाय तथा सङ्घीय सरकारहरूसँग थप समन्वय गरिने बताए । दाउन्ने सडक खण्डमा भइरहेको निर्माण कार्यका कारण सवारी साधन तथा यात्रुहरूलाई परेको समस्या प्रति मन्त्रालय गम्भीर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको बताए ।
सो खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने शर्माले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर सङ्गठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशकहरु लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ चैत्र २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
रात्रिकालीन सवारी नचलाउने निर्णय
तेब्बर बढ्यो विद्युतीय सवारी आयात