काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित बाहुनधारा बस्ने राहुल साह चैत ११ देखी सम्पर्कविहीन थिए । शाहको बुवाले प्रहरीमा निवेदन दिए, ‘मेरो छोरा खोजी गरिपाऊँ ।’
गोकर्णेश्वर नगरपालिका वडा नम्बर–८ स्थित माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको सञ्जालसँग लेनदेन रहेको सुराक अनुसन्धान अधिकृतहरूले पाए । त्यसपछि प्रहरी वृत्त बौद्धका डीएसपी जयश्वर रिमाल आफ्नो टिम लिएर वर्कसपमा पुग्छन् ।
वर्कसप भित्र खनेर हेर्दा राहुल शाहको शव भेटियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा भन्छन्, ‘चैत १५ मा वर्कसप भित्र गाडेको अवस्थामा शव उत्खनन् गरेर घटनाबारे अनुसन्धान गरिरहेका छौँ ।’
१९ वर्षीय शाहलाई वर्कसप सञ्चालकसहित ६ जना मिलेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा वर्कसप सञ्चालक सर्लाही घर भएका २२ वर्षीय निप मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत घर भएर दक्षिणढोका बस्ने २९ वर्षीय सुनील शर्मा छन् ।
शर्मा बाहेक अन्य आरोपीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । वर्कसपमा मोटरसाइकल बनाउन प्रयोग हुने सामग्री प्रयोग गरेर उनीहरूले शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
लेनदेन विवाद
राहुल शाहले वर्कसप सञ्चालक निप मण्डलाई ६० हजार सापटी दिएका थिए । सापटीको सर्त थियो, ‘महिनाको ७ हजार ब्याज बुझाउनुपर्ने ।’ ८ महिनासम्म मण्डलले ब्याज तिरेनन् । सावा पनि फिर्ता नगरेपछि चैत १० मा राहुलको आमा गएर पैसा मागिन् ।
आमालाई पैसा नदिएपछि चैत ११ मा राहुल वर्कसपमा पुग्छन् । साँवा ६० हजार र ब्याज ५६ हजार भएको भन्दै उनले रकम माग्छन् । ६ हजार छुट गरेर १ लाख १० हजार नदिई आफू त्यहाँबाट नजाने भन्दै राहुलले अडान लिन्छन् । मध्यान्ह ४ बजेतिर वर्कसपमा पुगेका राहुल साँझ ८ जबेसम्म बस्छन् । उनको अडान थियो, ‘पैसा नलिइ जान्न ।’
त्यसपछि मण्डलले भारतीय नागरिक सुनील शर्मालाई बोलाउँछन् । वर्कसपमा काम गर्ने मिस्त्री र हेल्परको सहयोग लिएर राहुलको हत्या गर्छन् । गम्छाले घाँटी कसेर आरोपीहरूले राहुलको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ती अधिकृत भन्छन्– ‘पैसा मागेर टर्चर दिएको भनेर हत्या गरेको देखिन्छ।’
पैसा फिर्ता नलिइ नजाने राहुलको अडानका कारण आरोपीहरूले हत्या गरेर शव व्यवस्थापन गरेका हुन् । आरोपीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, ११ : ५७
लेखकबाट थप