काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन अवस्था अझै पार भैनसकेको बताएका छन् । सोमबार काठमाडौँमा भएको ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘सङ्क्रमणकालीन अवस्था अझै पार भैसकेको छैन भन्ने कुरा पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भनिराख्या छ हामी सुनिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो एउटा प्रमाण हो ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ का अवसरमा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अरू केही प्रवृत्ति पनि रहेको बताए ।
‘त्यस्ता प्रवृत्तिहरू । ती पनि छ्यालब्याल पोखिने गरेका छन् । मौसम त्यस्तो हुँदोरहेछ । अलि ठुलो हावा चल्यो भने बलियो रुख त रहला तर हाँगाबिँगा हावासँगै ढल्किन्छन् ।’
उनले अहिले शिक्षक आन्दोलन चलिरहेको भन्दै किन चलाएको हो ? भनेर प्रश्न समेत गरे । ‘अहिले शिक्षक आन्दोलन चल्या छ । किन चलाउनुभएको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन । म प्रधानमन्त्री छु, भनिराखेको छु । जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन हामी त्यसको समाधान दिन्छौ’, ओलीले भने, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौ । दुःख पाउनुपर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौ उहाँहरूले किन दुःख पाउनुभएको हो ?’
प्रधानमन्त्रीले शिक्षकहरू संवादमा आउने बित्तिकै माग सम्बोधन गर्ने पनि बताए । उनले हत्या हिंसा, तोडफोड जस्ता प्रवृत्ति पनि देखिएको भन्दै हातमा कागज लिएर संविधानप्रति कसम खाएकाले पनि संसदमा आएर यहीं संविधान मान्दिन भन्ने गरेको बताए । ‘कत्रो विरोधाभास छ, इमानको कत्रो खडेरी छ । कति सारो खडेरी हो । यसले संक्रमणकालमै छौ भन्ने हो’, प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले राष्ट्रिय हितको रक्षा र संवर्द्धन महत्त्वपूर्ण विषय रहेको भन्दै सबै छिमेक सम्बन्धहरू न्यायोचित हुनुपर्ने बताए । ‘भूराजनीतिक भन्ने शब्दका आडमा आफ्नै कमजोरी, आफैँले आफ्ना कुरा, आफ्नो हित पनि भन्न नसक्ने कुरा र ढाकछोप गर्ने माध्यम बनाउनुहुँदैन’, प्रधानमन्त्रीको भनाइ छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन अवस्था अझै पार भैनसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ चैत्र २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले २८ वैशाखमा संसद्मा जवाफ दिने
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
उर्जा राज्यमन्त्री बर्खास्त गर्नु अघि प्रधानमन्त्रीको परराष्ट्रमन्त्रीसँग फोन सम्वाद