प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडी चलाउन दिन्छ : यातायातमन्त्री

सफल खबर संवाददाता

सोमबार, २५ चैत्र २०८१, १५ : ४१
प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडी चलाउन दिन्छ : यातायातमन्त्री

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरू चलाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

सोमबार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। 

उनले मापदण्डविपरितका गाडीहरूको कारण यात्रुवाहक सवारी साधनहरूमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए। उनले मालवाहक सवारी साधनहरूको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताए। 

उनले मालवाहक गाडिहरूको नाप तौलबारे अध्ययन गर्न कार्यदल बनाएको र उक्त समस्या छिट्टै समाधान गरिने बताए। उनले मालवाहक सवारी साधनको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको समेत बताए। प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडीहरू चलाउन दिएको आरोप लगाए। 

मन्त्री दाहालले भने, ‘तौलपुलको सम्बन्धमा तपाईहरूले दिनुभएको सुझावप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामी त्यसका लागि कार्यदल बनाएर अध्ययन गर्छौं। तुरुन्तै त्यसलाई समाधान गर्नुपर्ने भएको छ। यस सम्बन्धमा नेपाल प्रहरीबाट हामीलाई सहयोग भएन। असहयोग भयो क्या। यो विषयमा पनि हामीले गृह मन्त्रालयसँग नै बस्नुपर्ने भएको छ। किनभने जहिले पनि यस्तै विकृति हुने कुराले त देशलाई कुनै फाइदा पुग्दैन नि। पैसा खाएर ओभर लोडका गाडीहरू चलाउन दिने कुराले त स्वभाविक रुपले सार्वजनिक सम्पत्ति नोक्शान भइरहेको छ। त्यसकारण यो विकृतिलाई हटाउनको लागि लाग्ने कुरा म यहाँहरूलाई जानकारी गराउँछु।’

उनले गाडिहरूको ओभरलोडका सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक छलफल गर्ने बताए। निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गरे। 

प्रतिक्रिया दिनुहोस