दक्षिण अफ्रिकाको लगातार पाचौं जित

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, ०७ : २४
दक्षिण अफ्रिकाको लगातार पाचौं जित

काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सुपर-८ खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । गौसले यसअघि दक्षिण अफ्रिकाबाट यू-१९ क्रिकेट खेलेका थिए ।

हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलर २४, नितेश कुमार ८ र कोरी एन्डरसनले १२ रनमा आउट भए ।

एक समय ११.१ ओभरमा ७६(५ को अवस्थामा पुगेको अमेरिकालाई छैटौं विकेटका लागि हरमीत र गौसले ४३ बलमा ९१ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए ।अमेरिकालाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो । कागिसो रबाडाको १९ औं ओभरको पहिलो फुलटस बललाई ठूलो सट खेल्ने धुनमा हरमीत सिंह मिडविकेटमा स्टब्सबाट क्याच आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले १-१ विकेट लिए । त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । विकेटकिपर क्विन्टन डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

कप्तान एडेन माक्ररम ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा आउट भए । ओपनर रिजा हेन्ड्रिक्स टप एज लागेर मिडअफमा क्याच आउट हुँदा दक्षिण अफ्रिका २.४ ओभरमा १६-१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि डिकक र माक्ररमले ११० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

डिकक स्पिनर हरमीत सिंहको फुलटस बलमा शयान जहाजिंगरको बलमा क्याच आउट भएका थिए । लगत्तै डेविड मिलर शून्यमा कट एण्ड बोल्ड आउट भए । हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा नट आउट रहे । ट्रिस्टन स्टब्स १६ बलमा २ चौकासहित २० रनमा नट आउट रहे ।

अमेरिकाका हरमीत सिंहले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस