प्रधानमन्त्रीलाई मधेस प्रदेशका मुख्यमन्त्रीले बुझाए २२ बुँदे मागसहित ज्ञापनपत्र

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, २० : १६
प्रधानमन्त्रीलाई मधेस प्रदेशका मुख्यमन्त्रीले बुझाए २२ बुँदे मागसहित ज्ञापनपत्र

काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। 

मंगलबार मुख्यमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार निवासमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन्। 

उनले पहिलो बुँदामा जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गणको सौन्दर्यकरण गरिदिन माग गरेका छन्। 

यस्तै, हुलाकी राजमार्ग अन्तर्गत कमला पुललगायत अन्य पुल निर्माण कार्य पूरा गरी हुलाकी राजमार्गको कार्य पूरा हुनुपर्ने माग राखेका छन्। 

निर्माणाधीन पूर्व-पश्चिम रेलमार्ग प्रदेशका प्रमुख सहरसँग सम्पर्कको व्यवस्था हुनुपर्ने र जनकपुर जयनगर रेल्वे यातायातमा मालबाहक सेवाको लागि मालबाहक रेलको व्यवस्था हुनुपर्ने उनको माग छ। 

यस्तै, जनकपुरधामस्थित १२ बिघालाई सुव्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने उनले माग गरेका छन्। त्यसैगरी जिटुजीमार्फत सिमेन्ट कम्पनीले भारतको मार्केटमा पहुँच पुऱ्याउन संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने उनले माग राखेका छन्।