खार्तुम । सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ । ‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ)’ को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “स्थिति गम्भीर छ । शङ्कास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो ।
एमएसएफको ट्वीटमार्फत् सम्प्रेषित विज्ञप्तिमा भनिएको छ, “सुडानको ह्वाइट नाइल राज्यमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सङ्ख्या बढ्दो छ । नौवटा शिविरमा मुख्यतया महिला र बालबालिका गरी लाखौँको सङ्ख्यामा मानिसहरू बसिरहेका छन् ।” गैरसरकारी संस्थाले गत जुन ६ देखि २७ सम्म ह्वाइट नाइल शिविरमा दादुराका शङ्कास्पद २२३ बालबालिकाको उपचार गरेको थियो भने १३ जनाको मृत्यु भएको छ । एमएसएफले सहयोग गर्ने दुईवटा क्लिनिकबाट ७२ जनालाई उपचार गरिरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामीले हरेक दिन दादुराको शङ्कास्पद बिरामी बालबालिकालाई ल्याइरहेका छौं । गैरसरकारी संस्थाका अनुसार जुन महिनामा यी दुई क्लिनिकमा कूल तीन हजार १४५ जना बिरामी आएका छन् ।” उनले भने, “जति धेरै मानिस आउँछन्, सहयोग, खोप, पोषण सहायता, आवास, पानी र सरसफाइजस्ता सेवा तत्काल बढाउन आवश्यक छ ।वर्षायाम नजिकिँदै छ र हामी यस क्षेत्रमा पानीजन्य रोग र औलोको प्रकोप बढ्दै गएकोमा चिन्तित छौं ।”
गत अप्रिल १५ मा सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध सुरु भएयता सुडानी शरणार्थीको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय (आइओएम) को तथ्याङ्कअनुसार करिब २८ लाख मानिस पलायन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १८ असार २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
सरकारी प्रतिनिधिबिनै सुडानको युद्धविराम वार्ता शुरू हुँदै
सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा