खार्तुम । सुडानको उत्तर दारफुर राज्यको राजधानी एल फासरमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा ३२ जना सर्वसाधारणको ज्यान गएको सेनाले जनाएको छ ।
सेनाको छैटौँ डिभिजनले जनाएअनुसार शुक्रबार उक्त समूहले आत्मघाती मानव रहित यन्त्र (ड्रोन) मार्फत आक्रमण गरेको थियो । मृतकमध्ये चार जना महिला र १० जना बालबालिका रहेका छन् भने १७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना गरिएको छ ।
एल फासरको प्रतिरोध समितिको समन्वय समूहले पनि आक्रमणको पुष्टि गर्दै शहरको उत्तर र पूर्व भागमा मानव रहित यन्त्र र तोप प्रहार गरिएको जनाएको छ । साथै, नागरिकहरूलाई सडकमा ननिस्कन अनुरोध गरिएको छ ।
सुडानी चिकित्सक सञ्जालले एल फासर नजिकै रहेको जमजम नामक विस्थापित शिविरमा आरएसएफले दोस्रो पटक आक्रमण गरेको जनाएको छ । हालसम्म उक्त शिविरमा जनधनको क्षतिको पुष्टि नभए पनि यसरी ठूलो क्षमताको हातहतियार प्रयोग गर्नु हिंसात्मक गतिविधि वृद्धि भएको भन्दै सञ्जालले निन्दा गरेको छ ।
उत्तर दारफुर राज्यको स्वास्थ्य मन्त्रालयका महानिर्देशक इब्राहिम खातिरले जमजम शिविरमा आक्रमण भएको पुष्टि गरे । तर उक्त स्थान शहरबाट टाढा रहेको र सञ्चार सम्पर्कमा समस्या भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।
सन् २०२४ मे १० देखि एल फासरमा सुडानी सेना र आरएसएफबीच तीव्र लडाइँ जारी छ । यो द्वन्द्व सन् २०२३ को अप्रिलदेखि सुडानमा फैलिएको गहिरो संकटको हिस्सा हो ।
संयुक्त राष्ट्रसंघद्वारा उद्धृत गरिएको एउटा अनुसन्धान संस्थाले दिएको जानकारी अनुसार सो द्वन्द्वमा हालसम्म २९ हजार ६ सयभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड ५० लाखभन्दा बढी व्यक्ति आफ्नै घरबाट विस्थापित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३० चैत्र २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
दक्षिणी सुडानको स्थिति सरकारको नियन्त्रण
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
सरकारी प्रतिनिधिबिनै सुडानको युद्धविराम वार्ता शुरू हुँदै