काठमाडौं। जेनेभा– सुडानको युद्धविराम वार्ता अमेरिकी मध्यस्थतामा बुधबारदेखि स्विट्जरल्यान्डमा शुरू हुने भएको छ ।सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले विनाशकारी द्वन्द्वबाट तहसनहस भएका सुडानका जनताले अब पर्खन नसक्ने भन्दै वार्ता अघि बढ्ने बताएका छन् ।
सन् २०२३ को अप्रिलदेखि सुडानका वास्तविक शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच युद्ध चलिरहेको छ ।
अज्ञात स्थानमा बन्द कोठामा हुने वार्ताका लागि आरएसएफको प्रतिनिधिमण्डल स्विट्जरल्यान्डमा छ । तर सरकारनिकट सुडानी सशस्त्र बल (एसएएफ)ले निमन्त्रणा स्वीकार गरेको छैन । यसर्थ सुडानी सरकारबिनै वार्ता हुने भएको हो ।
१० दिनसम्म चल्ने उक्त वार्ताका लागि साउदी अरेबिया र स्विट्जरल्यान्डले संयुक्त रूपमा मध्यस्थता गरेका छन् भने अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्रसङ्घ पर्यवेक्षकका रूपमा उपस्थित छन् ।
सुडानमा चलिरहेको हिंसात्मक द्वन्द्वले संसारकै सबैभन्दा खराबमध्ये एक मानिएको मानवीय सङ्कट निम्त्याएको छ ।यस द्वन्द्वका कारण हरेक पाँच सुडानीमध्ये एकजना आफ्नो घर छोड्न बाध्य भएका छन् भने दशौं हजारको मृत्यु भइसकेको छ । देशभरका दुई करोड ५० लाखभन्दा बढी अर्थात् आधाभन्दा बढी जनसङ्ख्या भोकमरीको चपेटामा परेको छ ।
‘अहिले शान्ति स्थापनाका लागि उपयुक्त समय हो,’ पेरिएलोले मङ्गलबार भने, ‘अहिलेसम्म एसएएफले भाग लिन मानेको छैन । यद्यपि हामी हाम्रा अन्तर्राष्ट्रिय र प्राविधिक साझेदारहरूसँग सुडानका जनतालाई समर्थन गर्न सबै विकल्पहरू खोजी गर्न अघि बढ्नेछौं । सरकारलाई ‘अवसरको फाइदा उठाउन’ आग्रह गर्दछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु
सुडानमा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
दक्षिणी सुडानको स्थिति सरकारको नियन्त्रण
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा