माओवादीले तोक्यो प्रदेश १ मा ८ जिल्ला संयोजक

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १३ : ५३
माओवादीले तोक्यो प्रदेश १ मा ८ जिल्ला संयोजक

विराटनगर। नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले प्रदेश-१ मा ८ जिल्ला संयोजक तोकेको छ। दोस्रो पूर्ण बैठकले १४ मध्ये ८ जिल्लाको संयोजक तोकेको हो । ६ जिल्लामा भने विवाद छ ।

माओवादीको प्रदेश कमिटीको बैठकले खोटाङ, उदयपुर, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, संखुवासभा, पाँचथर, इलामको संयोजक तोकेको हो ।खोटाङ संयोजकको जिम्मेवारी दिपक पाण्डेले पाएका छन् । उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईले संयोजकको जिम्मेवारी पाएका छन् ।

बाँकी ६ जिल्लामा केही दिन भित्र संयोजकको टुङ्गो लगाउने माओवादी केन्द्र प्रदेश १ उपाध्यक्ष शिवकुमार डागीले बताए । उनका अनुसार मोरङ, सुनसरी, झापा, धनकुटा, ताप्लेजुङ, ओखलढुंगामा संयोजक तोक्ने विषयमा सहमति जुटेको छैन ।

‘सम्बन्धित जिल्लाका प्रदेश सदस्यहरुले नाम फाइनल गरेर ल्याउनुहुनेछ,’ उनले भने,‘ उहाँहरुले नसके प्रदेश कमिटीले संयोजक तोक्ने छ ।’उनका अनुसार बैठकले प्रदेश कमिटीको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको विराटनगर-२ तीन पैनीमा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेको छ । बैठकले विराटनगरमा नै भवन बनाउने निर्णय गरेको उनले बताए ।

बैठकले प्रदेश कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई तोकेको छ। माओवादीले उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धि अध्ययन कार्यदल र उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्भेक्षण कार्यदल बनाएको छ ।

बैठकले चैतसम्म संगठनात्मक अभियान चलाउने निर्णय गरेको छ । बैठकले प्रदेश १ मा पार्टीको सदस्य संख्या १ लाख ५० हजार थप गर्नका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।