काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण घटेको देखिँदा सङ्क्रमित बिरामी निको हुने दर पनि बढेको छ ।
स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमण पुष्टि भएका नौ हजार ८०६ मध्ये झण्डै ९७ प्रतिशत अर्थात् नौ हजार ५२६ जना उपचार व्यवस्थापन पछि ‘डिस्चार्ज’ हुनुभएको छ ।
यस्तै पीसीआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित फेला पर्ने ३८ हजार ५० मध्ये ९९ दशमलव ५० प्रतिशत अर्थात् ३७ हजार ८६३ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशका सबै नौ जिल्लामा गरी आजसम्म जम्मा तीन लाख ९२ हजार ९०४ जनाको नमूना परीक्षण गरिएकामा ४७ हजार ८५६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को १५ दशमलव ३९ प्रतिशत हो । नमूना परीक्षण गरिएकामध्ये १२ दशमलव १८ प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
तराईका कैलाली र कञ्चनपुर जिल्ला यो रोगको सङ्क्रमणबाट बढी प्रभावित भएका छन् । प्रदेशमा आज कोराना भाइरसका सक्रिय सङ्क्रमित ८५ जना रहेका छन् । एक महिनाअघि सङ्क्रमित बिरामी निको हुने दर एन्टिजेन पद्धतितर्फ ९६ प्रतिशत र पीसीआर पद्धतितर्फ ९९ प्रतिशत रहेको थियो । एक महिनाअघि सक्रिय सङ्क्रमित बिरामी १४४ रहेका थिए ।
गएको २४ घण्टामा एक हजार ४३ जनाको कोरोना भाइरसको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण देखिएको छ । यो रोगको सङ्क्रमण फैलिएयता हालसम्म ६०६ जनाको मृत्यु भएको छ । गएको वैशाख जेठ महिनामा यो रोगको सङ्क्रमण र मृत्यु दर उच्च थियो । असार महिना सुरु भएसँगै केही घटेको थियो ।
तथ्याङ्कमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको देखिए पनि नमूना परीक्षण गराउन आउनेको सङ्ख्या कम हुँदा सङ्क्रमण दर घटेको देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले सबै नागरिकले खोप नपाएसम्म र तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेसम्म यो रोगको जोखिम यथावत् रहेको बताए ।
“नमूना परीक्षण नै कम भइरहेको छ, त्यसैले कम व्यक्तिमा सङ्क्रमण देखिन थालेको हो”, उनले भने, “प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर अहिले पनि कुनै दिन बढेको र कुनै दिन घटेको देखिएको छ ।” पछिल्ला हप्तामा सङ्क्रमण रोकथामका लागि मास्क र स्यानिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालनमा नागरिकबाट बेवास्था भइरहेको छ । सहरी क्षेत्रमा कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्डपालन गरेको देखिए पनि ग्रामीण क्षेत्रमा अधिकांश व्यक्तिले स्वास्थ्य सुरक्षा पालना गरेको देखिँदैन ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ कार्तिक २०७८, २१ : ३०
लेखकबाट थप