कांग्रेसको मंसिर २४ देखि २६ गते महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका पारित

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, २० : ०४
कांग्रेसको मंसिर २४ देखि २६ गते महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका पारित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको भन्दा १५ दिन पछाडि सरेको छ । केन्द्रीय निर्वाचन समितिले मंसिर २४ , २५ र २६ गते महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका पारित गरेको छ । यसअघि निर्वाचन समितिमा मंसिर २७ देखि महाधिवेशन गर्न प्रस्ताव भएपनि आजको बैठकले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका संयोजक महादेव यादवसहित सदस्यहरु गोपालकृष्ण घिमिरे, सीताराम केसी, एगराज पोखरेल र तेजबहादुर रावलले संयुक्त हस्ताक्षरमा नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेका छन् । जसअनुसार वडा अधिवेशन सुरु नभएका जिल्लाहरुमा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ । निर्वाचन समितिले जिल्लाअनुसार अलग अलग अधिवेशन तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार वडा अधिवेशन समेत नभएका जिल्लाहरुमा कात्तिक २७ मा वडा अधिवेशन, कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेश सभा अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र मंसिर १० मा जिल्ला अधिवेशन हुनेछ । निर्वाचन समितिले अधिवेशन बाँकी रहेका हिमाली जिल्लाहरु दार्चुला, सोलुखुम्बु र म्याग्दीमा कात्तिक २७ गते प्रदेशसभा अधिवेशन र मंसिर १ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।