कागज कारखानाको कंकालमात्र, के होला अब भृकुटीको ?

सफल खबर संवाददाता

शुक्रबार, २६ पुस २०८१, १८ : २८
कागज कारखानाको कंकालमात्र, के होला अब भृकुटीको ?

 चितवन  l केही दिनअघि चितवनकै एक दैनिक पत्रिकामा भँगेरेटाउके शीर्षकमा लेखिएको थियो, ‘भृकुटी कागज कारखाना सञ्चालन गर्न माग ।’ नेपाल उद्योग तथा व्यवसाय महासंघको नवलपुरको गैंडाकोटमै सम्पन्न राष्ट्रिय विस्तारित बैठकमा भृकुटी कागज कारखाना लगायत बन्द अवस्थामा रहेका देशका सबै उद्योगलाई सरकार र निजी साझेदारीको अवधारणामा पूर्ण सञ्चालनमा ल्याउन सरकारसँग माग गरिएको कुरा पत्रिकामा उल्लेख थियो । मरिसकेको संरचना फेरि बिउँतिएला ? कुनै खास चमत्कार नभई भृकुटी कागज कारखानाले नयाँ जीवन पाउन अब सम्भव छैन, कंकालमा परिणत भइसकेको छ ।

कुनैबेला दैनिक ४० मेट्रिक टनसम्म कागज उत्पादनको क्षमता राख्ने भृकुटी कागज कारखाना २०६८ सालदेखि पूर्णरुपमा बन्द छ । भनिन्छ, ऊबेला सिंगो नेपालको ३५ प्रतिशत कागजको माग यसैले पूरा गथ्र्याे, यहाँको कागज विदेशसमेत निर्यात हुन्थ्यो । ठूलो संख्यामा रोजगारी दिएको थियो । यहाँका तीनसय ३३ जना स्थायी कर्मचारीले कम्पनीबाट पाउनुपर्ने आर्थिक हरहिसाब अझै पूरा पाउन सकेका छैनन् । अस्थायी, ज्यालादारी र महिनावारी काम गर्ने अरु पाँच–सात सय कामदार थिए । अहिले यहाँ कम्पनीको सुरक्षार्थ मात्र २० जनाजति छन् । ‘अब यहाँ यो कागज कारखाना चल्न सक्दैन’, यहाँका सुरक्षा अधिकृत माधव घिमिरे नै भन्छन्, ‘यही मेसिनबाट चल्नसक्ने सम्भावना न्यून देखिन्छ ।’ 

बन्द हुनुअघिसम्म चालु अवस्थामै रहेका मेसिन उपकरणहरु पनि अहिले थोत्रिसके होलान् । नयाँ–नयाँ प्रविधि भित्रिइसकेको अहिलेको जमानामा तिनै पुराना मेसिनबाट प्रतिपस्र्धा हुनसक्ने कुरो पनि रहेन । त्यतिबेला चरम लोडसेडिङ, स्थानीयको विरोध, ट्रेड युनियनहरुको हस्तक्षेप लगायत विविध कारण कम्पनी बन्द हुन पुगेको थियो । 

भृकुटी पल्प एण्ड पेपर लिमिटेडको नाममा यहाँ ५२ बिघा जमिन छ । तीन–चारवटा बैंकमा जग्गा धितो रहेको कारण पनि यसले निकास पाउन अप्ठेरो भइरहेको बुझिन्छ । कारखाना सञ्चालनको माग गर्दै विगतमा आन्दोलनहरु पनि नभएका होइन । यहाँ र काठमाडौंमा समेत केही चरण आन्दोलन भए तर सञ्चालनमा आउन सकेन । एउटा उद्योग १२ वर्षसम्म बन्द भएर बसेको छ, अहिलेसम्म कुनै निकास दिन नसक्नु सरकारको कमजोरी भएको बताउँदै यी सुरक्षा अधिकृत भन्छन्, ‘सरकारले चाह्यो भने जस्तो बन्जरमा पनि हरियाली बन्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन यसलाई फरक ढंगले विकास गर्नुपर्ने बताउँछन् । गैंडाकोटकै स्थानीयवासीसमेत रहेका उनले कागज कारखाना पुनःसञ्चालनमा आउन आफूले सम्भव नदेखेको बताउँदै भने, ‘यहाँ अब अस्पताल वा मेडिकल कलेज बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ यसका लागि प्रदेश सरकारसँग पहल गरिरहेको पनि उनले बताए । 

गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी भृकुटी कागज कारखानाको विषयमा आफूले विगतमा मन्त्रीस्तरमै कुराकानी गरेको सुनाउँछन् । गएको चुनावभन्दा पहिले उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटेर ‘भृकुटीको विषयमा तपाईंहरुले केही गरिदिनुस्, बाटो हिँड्न पनि खतरा भइरहेको छ, टिनहरु झुण्डिराख्या छन्’ भनेर कुरा गर्दा मन्त्री बडुले ‘म प्रधानमन्त्रीसँग कुरा गर्छु, तपाईं अनि यस क्षेत्रका सांसद् डा. शंशाक कोइराला र हितेष गोल्छालाई पनि बोलाएर यसको टुंगो लगाउने भन्नुभाथ्यो । त्यसपछि चुनाव भयो, मन्त्री पनि फेरिए । कुरो त्यत्तिकै त्यत्तिकै रह्यो’, मेयरले भने ।

यो ठाउँमा मेडिकल कलेज नै खोल्न उपयुक्त हुने मेयरको पनि धारणा छ । ‘कागज कारखाना यहाँबाट कुनै पनि हालतमा सञ्चालन हुँदैन । त्यसले प्रदूषण गरेर वरिपरि गाउँलाई बस्न पनि दिन्न । हाकिमचोकसम्म त्यसको कालो पुग्दो रहेछ । लुगा पनि सुकाउन नहुने जम्मै कालो भएर न तरकारी हुन्छ, न के हुन्छ । त्यसो भएर त्यो कागज कारखाना सञ्चालन गर्न गाउँलेले नै दिँदैनन्’, उनले भने । नगरपालिकाको तर्फबाट अब यहाँको संरचनालाई हटाउन लगाइने पनि उनले बताएका छन् ।

भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.सं. २०४२ सालमा बनेको कारखाना हो । सुरुमा सरकारी स्वामित्वमा रहेपनि २०४९ सालमा निजीकरण गरिएपछि गोल्छा समूहले यो कारखाना चलाउँदै आएको थियो । (अजय गोर्खाली)

प्रतिक्रिया दिनुहोस