सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउछौं : अर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १५ : २५
सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउछौं : अर्थमन्त्री  पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।बजेटको कार्यान्वयनमाथि विपक्षी दल तथा विज्ञहरुले प्रश्न उठाइरहेका बेला अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने, ‘धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गरे । म भन्न चाहन्छु कि यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो । कार्यान्वयन गरेर देखाउँछौं ।’

उनले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको बताए । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने उनको भनाइ छ ।

‘योभन्दा अर्को वैधानिक विकल्प थिएन । यस्तो संकटको घडीमा कामचलाउ बजेट मात्र ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट हामी पन्छिन मिल्दैनथ्यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस