चुङ्गी खेल्ने विषयमा विवाद हुँदा ललितपुरमा २ किशोरमाथि चक्कु प्रहार

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, १३ : ५६
चुङ्गी खेल्ने विषयमा विवाद हुँदा ललितपुरमा २ किशोरमाथि चक्कु प्रहार

काठमाडौँ । ललितपुरको गोदावरीमा दुई जना किशोरमाथि चक्कु प्रहार भएको छ । गोदावरी नगरपालिका वडा नम्बर–१ स्थित गोदामचौरमा चक्कु प्रहारबाट स्थानीय विशंखुनारायण माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत दुई जना विद्यार्थी घाइते भएका छन् ।

उनीहरूको पुल्चोक स्थित सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ । गोरखा घर भई गोदामचौरमा बस्ने उनीहरू दाजुभाइ हुन् ।

चुङ्गी खेल्ने निहुँमा झगडा हुँदा अर्को समूहका ३ जना मिलेर चक्कु प्रहार गरेको प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र बहादुर भट्टराईले रातोपाटीलाई बताए । एक जनाको कोख र अर्का घाइतेको टाउकोमा चोट लागेको छ ।

चक्कु प्रहार गर्ने १६ वर्ष र १८ वर्षीय किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरू पनि  विशंखुनारायण माध्यमिक विद्यालयमा पढ्छन् । चक्कु प्रहारमा संलग्न अर्का एकजना फरार छन् ।

सुरुमा दुई समूहको बिचमा झगडा भएको र पछि अर्का युवक आएपछि चक्कु प्रहार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए ।

आरोपी र पीडितको नाबालक भएको हुनाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । 

प्रतिक्रिया दिनुहोस