वीरगञ्जमा करेन्ट लागेर एकजना युवकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, १२ : ५८
वीरगञ्जमा करेन्ट लागेर एकजना युवकको मृत्यु

वीरगञ्ज । बारा जितपुर सिमरा उप महानगरपालिकाका एक युवकको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको छ। शौच गर्न जादा करेन्ट लागेर जितपुर सिमरा उप महानगरपालिका ५ बकुलिया टोल निवासी ३० वर्षीय युवक उपदेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरी बिहान घरबाट शौच गर्न मकै खेतमा गएका थिए। मकै खेतमा पस्ने क्रममा खेतमा जंगली जनावरबाट बाली जोगाउन प्रवाह गरिएको करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

लापरबाही तरिकाले मनोमानी रुपमा खेतमा करेन्ट प्रवाह गर्ने खेत धनीलाई प्रहरीले पक्राउ गरेको छ। करेन्ट प्रवाह गर्ने खेत धनी सोही स्थानका दिप नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको मिश्रले बताए।

यसरी करेन्ट प्रवाह गर्ने व्यक्तिलाई कानुन अनुसार कारवाही गर्ने उनको भनाइ छ। युवकको मृत्यु भएको घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।