नेपाली क्रिकेट टोलीका लागि प्रशिक्षकको खोजी

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, १२ : ५३
नेपाली क्रिकेट टोलीका लागि प्रशिक्षकको खोजी

फाइल फोटो

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) लाई खुल्ला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्न सबै पक्षबाट सुझाव आएपछि क्यानले प्रशिक्षकका लागि आह्वान गरेको दरखास्तको मिति अहिले  सकिएको छ । को–कसले दरखास्त दिए ? सार्वजनिक भएको छैन । 

छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ अहिले चासोको विषय बनेको छ । दुई दशक अगाडि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली बामे सर्दै थियो । श्रीलंकाली प्रशिक्षक डायसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा भिजाउन मेहनत गरेर क्रिकेटको बलियो जग बसालेसँगै अर्का प्रशिक्षक पुवुदले नेपाली क्रिकेटलाई नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेले । 

त्यसपछि नेपालले विभिन्न डिभिजनका खेललाई पार गर्दै अहिले एक दिवसीय मान्यता पाएको छ । ट्वान्टी–२० विश्वकपमा पनि अनुभव बटुल्न सफल भयो, नेपाली टोली ।  त्यसो त अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा नेपाली टोलीलाई १३ विदेशी प्रशिक्षकले प्रशिक्षण दिइसकेका छन् । यो अवधिकमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा स्थान पनि बनाउन सफल भयो । 

पछिल्लो समय पाएको सफलतालाई जोगाउनका  लागि आउँदो दिनमा अनुभवी र नेपाली टोलीलाई धेरै भन्दा धेरै मैत्रीपूर्ण खेलको तालमेल गर्ने प्रशिक्षक खाँचो भएको धेरैले औल्याउँदै आएका छन् । अहिलेको अवस्थामा नेपाली क्रिकेट टोलीका लािग अनुभवि र अन्तर्राष्ट्रिय स्तरमा बलियो प्रभाव भएको प्रशिक्षक आवश्यक छ भन्छन् पूर्व क्रिकेटर पवन अग्रवाल ।

अहिले विश्व कोरोना महामारीको चपेटामा परेको छ । क्रिकेट गतिविधि चलायमान त्यति हुन सकेका छैनन् । यो समय क्यानलाई नयाँ प्रशिक्षक खोज्ने उपयुक्त समय मिलेको छ । नेपाली टिमको प्रशिक्षक बनेर को आउला भन्ने चासो सर्बत्र बढ्दै गइरहेको अवस्थामा पूर्व कप्तान विनोद दास एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपाललाई विश्व क्रिकेटलाई नजिकबाट बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको बताउँछन् ।

२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ । राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी तोकिएको छ । तर क्रिकेटको गतिविधि भने शून्य छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित गरिरहेको अवस्थामा क्यानले प्रशिक्षक र विभिन्न  पदाधिकारीको नियुक्तिलाई सक्दो छिटो पूरा गरी क्रिकेटलाई चलायमान बनाउन यथाशीघ्र कदम चाल्नु पर्ने आश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस