चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गर्दे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०७७, १८ : २३
चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गर्दे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

चितवन । चिकित्सकहरूको सुरक्षाको प्रत्याभूतिसँगै उनीहरुको मनोबल उच्च राख्न माग गर्दै चितवनका चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत चिकित्सकलाई हातपात गरेको विरोध गर्दै चितवन जिल्लाका स्वास्थ्यकर्मीको समेत सुरुक्षाको माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ ज्ञापनपत्र बुझाएका हुन् । 

जेठ १४ गते ६४ वर्षीया महिलाको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको छोरीले उपचारमा संलग्न एक चिकित्सक माथि हातपात गरेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले लापरवाही गरेको उनको आरोप थियो ।

जूनियर डाक्टर कम्युनिटीको तर्फबाट डा. निर्देश पोख्रेल र रुबिन श्रेष्ठ, नेपाल मेडिकल एशोसेशनको तर्फबाट डा. सुजन न्यौपाने र नेपाल मेडिकल स्टुडेन्ट एशोसिएशन चितवनका अध्यक्ष अविष्कार चापागाईँले हस्ताक्षर गरेको विज्ञप्तीमा नेपाल मेडिकल कलेजको घटनाको निन्दा र भत्र्सना गरिएको छ । 

डिउटीमा रहेको चिकित्सकमाथि हातपात गर्नेलाई कानुन अनुसार कारवाही गर्न माग गरिएको छ । कोभिड–१९ को महामारीको विद्यमान अवस्थामा स्वास्थ्यकर्मी अग्रपंक्तिमा रहेर निरन्तर सेवामा खटिरहेकालाई यस घट्नाले भौतिक तथा मानसिक मनोबल गिराउने काम गरेको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ ।

चितवनका चिकित्सकहरुले यस घटनाको निन्दा गर्दै अस्पतालको सेवा प्रवाहमा कुनै असर नपर्ने गरी सांकेतिक रुपमा नेपाल मेडिकल कलेज जोरपाटीका चिकित्सकहरुको संघर्षको कार्यक्रमलाई समर्थन गर्दै जिल्लामा समेत कार्यक्रम गर्ने निर्णय गरिएको राष्ट्रिय चिकित्सक संघ नेपाल का चितवन प्रतिनिधि डाक्टर पल्लब राज पौडेलले जानकारी दिएका छन् ।