अकल्याण्ड । अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ ।
डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हँुदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ । अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्याण्डका अधिकारीहरुले जनाएका छन् ।
मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ । यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ ।
के के भयो क्षति ?
आगलागीबाट न्यू साउथ वेल्समा अहिले करिब १० करोड एकड जमिन जलिसकेको छ । एक हजार भन्दा धेरै घर नष्ट भएका छन् । दक्षिणी भेगमा रहेको भिक्टोरियामा करिब ६ हजार हेक्टर जमिन आगलागीबाट नस्ट भएको सिएनएनले जनाएको छ । टाइम्सका अनुसार अहिले जम्माजम्मी २ लाख ६४ हजार हेक्टर आगोले भस्म भएको छ ।
राजधानी क्यानबेरामा ८० वर्षपछिकै सबैभन्दा धेरै तापक्रम ४४ डिग्री सेल्सियस पुगेको त्यहाँको मौसम विभागले जनाएको छ । पश्चिमी सिडनीको पेन्ड्रिथ उपनगरमा करिब ४८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ ।
आगो कत्तिको व्यापक छ ?
सेप्टेम्बरको सुरुदेखि नै अष्ट्रेलियामा आगलागी विनाशकारी अवस्थामा पुग्ने अशुभ संकेतहरू देखिन थालेको न्युयोर्क टाइम्सले जनाएको छ । सेप्टेम्बरमा क्विन्सल्याण्डको पहाडमा रहेको ऐतिहासिक भग्नावशेष बिन्ना बुरा लजलाई आगोले नष्ट गरेको थियो । यसबाहेक अन्यत्र भने यसको असर कम थियो । तर, जनवरीसम्म आइपुग्दा यो अवस्था अष्ट्रेलियाको ठूलो भूभागतिर फैलियो ।
अहिले अष्ट्रेलियाका कूल ६ मध्ये ४ प्रदेश आगोबाट प्रभावित छन् । अष्ट्रेलियाको पूर्वी तटमा सबैभन्दा धेरै तातो छ । नोभेम्बरको सुरुतिर पनि ७० ठाउँमा लागेको आगो निभाउन १५०० भन्दा धेरै सैनिक र अग्नि नियन्त्रक परिचालन गरिएको थियो ।
तयारी अवस्थामा राखिएको तीन हजार सैनिकलँई पनि आगो निभाउने कार्यमा खटाउन लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।
किन लाग्यो आगो ?
अष्ट्रेलियामा कसैले आगो लगाएको नभई जमिन नै धेरै तातो भएर सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रेकर्ड तोड्ने तापमान, विस्तारित खडेरी र कडा बतासका कारण आगलागी भएको बताइएको छ । डिसेम्बरको मध्यदेखि नै अष्ट्रेलियामा उष्णता बढ्दै गएको थियो ।
अष्ट्रेलियाको इतिहासमा तापक्रम ४९ डिग्री सेल्सियससम्म पुगेको छ । त्यहाँ तापक्रम ४० डिग्री भन्दा माथि पुगेपछि सरकारले समस्याग्रस्त घोषणा गरेर बिदा दिएको थियो । दक्षिण अष्ट्रेलियामा यो हप्ताभरि नै उष्णता जारी छ ।
अष्ट्रेलियामा सन् २०१७ को सुरूदेखि नै न्यू साउथ वेल्स र क्विन्सल्याण्डका धेरैजसो ठाउँमा वर्षा अत्यन्त कम हुन थालेको थियो । खडेरीले देशको सबैभन्दा बढी उत्पादनशील कृषि क्षेत्रमा असर पारेको अष्ट्रेलिया सरकारले जनाएको छ । जसमध्ये धेरै खेती अहिले जलिरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० पुस २०७६, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाभारत जंगलमा लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन
लस एन्जलसमा फेरि भड्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
लस एन्जलसमा डढेलोसँगै चोरी र लुटपाटको आतंक, २५० अर्बको क्षति
लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे