काभ्रे । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।
जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ।
काभ्रेको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा डढेलो फैलिएको छ। ओगोले अन्य वन क्षेत्रमासमेत असर गर्नसक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ।
आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्। सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो।
आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए। उनका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन्। ‘हामीले आगलागी क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ,’ अधिकारीले भने।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए। उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ।
डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउँसो २ बजेदेखि वनको भिर क्षेत्रबाट आगलागी सुरू भएको हो।
हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। कार्यालयले आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको एकीन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लस एन्जलसमा फेरि भड्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
लस एन्जलसमा डढेलोसँगै चोरी र लुटपाटको आतंक, २५० अर्बको क्षति
लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे
डढेलोले दुनाटपरी बनाउने उद्योग संकटमा