काठमाडौं। अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि थप दमकल र पानी ट्यांकरहरू परिचालन गरिएको छ । डढेलोबाट हजारौं घर नष्ट भइसकेका छन् भने २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । २३ जना अहिलेसम्म बेपत्ता छन् । १६० वर्ग किलोमिटर क्षेत्रलाई डढेलोले क्षतिग्रस्त बनाएको छ ।
यससँगै डढेलो फैलिएको क्षेत्रमा चोरी र लुटपाटका घटना बढेका छन् । दमकल र जहाजको प्रयोग गरेर प्रभावित क्षेत्रमा गुलाबी रंगको आगो प्रतिरोधी रसायन छर्किन थालिएको छ । पानीको अभाव रहेका क्षेत्रहरूमा दर्जनौं पानी ट्यांकर पठाइएको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । विशेष जोखिममा रहेका सुक्खा झाडीयुक्त स्थानहरूमा थप अग्नि-प्रतिरोधी टोली तैनाथ गरिएको छ ।
लस एन्जलसका मेयर करेन बासले विगतका प्रतिक्रियाप्रति आलोचना झेलेपछि थप सुरक्षात्मक कदम चालिएको र अन्तर्राष्ट्रिय सहयोगसमेत लिइएको बताइन् ।
लस एन्जलस काउन्टी फायर प्रमुख एन्थोनी म्यारोनले भने, 'यो हप्ता हामी धेरै राम्रोसँग तयारी अवस्थामा छौं । पछिल्लो हप्ता जस्तै ७० माइल प्रतिघण्टाको हावाको जोखिम भए पनि अबको तयारीले स्थिति नियन्त्रणमा राख्ने विश्वास छ ।'
हावाको प्रवाहले थप क्षति
सोमबार राति र मंगलबार बिहान तीव्र हावाका कारण आगो थप बढेको छ । यो हावाको वेग १०५ किमी प्रतिघण्टा छ र यसले डढेलो फैलाइरहेको छ ।राष्ट्रिय मौसम सेवाले मंगलबारलाई 'खतरनाक दिन' भन्दै दक्षिण क्यालिफोर्नियाका घना बसोबास भएका क्षेत्रहरूमा आगलागीको उच्च जोखिम रहेको चेतावनी दिएको छ ।
उद्धार र जनताको जीवनशैली
विभिन्न प्रभावित क्षेत्रका नागरिकहरूले आफ्नो ज्यान जोगाउने प्रयास गरिरहेका छन् ।स्थानीय तबिथा ट्रोसनको भनाइ उद्धृत गर्दै एपीले लेखेको छ, 'हामीले केही महत्त्वपूर्ण घरायसी सामग्री तयारी अवस्थामा राखेर बसिरहेका छौं । जतिबेला पनि यहाँबाट हिँड्नुपर्ने हुनसक्छ ।'
यसैबीच स्थानीय अधिकारीहरूले पसाडिनाको इटनको आगो करिब एक-तिहाइ नियन्त्रणमा आएकोबताएका छन् । त्यस्तै प्यासिफिक पालिसेड्समा फैलिएको डढेलो भने अझैसम्म नियन्त्रणमा आउन नसकेको क्षेत्र हो । प्रारम्भिक अनुमानअनुसार आगलागीले २५० अर्ब डलर भन्दा बढी क्षति गरेको छ । यो अझै बढ्ने अनुमान गरिएको छ ।
प्रभावित क्षेत्र र सरकारको प्रतिक्रिया
डढेलोले प्रभावित म्यान्डेभिल क्यानयनजस्ता नयाँ बसोबास भएको स्थानमा जोखिम निम्त्याएको छ । यो क्षेत्र हलिउडका सेलिब्रिटीहरूको घर रहेको ठाउँ हो । फायर प्रमुख क्रिस्टिन क्रोलेले भनिन्, 'क्षतिग्रस्त क्षेत्रमा प्रवेश नगर्नुहोस् । त्यहाँ अझै पनि ग्यास लिकेज र कमजोर संरचना छन् ।'
बियोन्से, डिज्नी र अन्य सेलिब्रिटीहरूले विस्थापितहरूका लागि लाखौं डलरको सहयोग गर्ने घोषणा गरेका छन् । स्थानीय बासिन्दाहरूले कपडा र अन्य सामग्री सहयोगस्वरूप संकलन गरेका छन् ।
लुटपाट र मूल्यवृद्धिका घटना
डढेलो प्रभावित क्षेत्रमा लुटपाट र मूल्यवृद्धिका घटना बढेको एपीले जनाएको छ । जिल्ला वकिल कार्यालयका प्रमुख नाथन होचम्यानले भने, 'होटल र औषधि सामग्रीमा मूल्यवृद्धि गर्ने र ठगी गर्ने घटनाहरूमाथि कारबाही थालिएको छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, १३ : ५२
लेखकबाट थप