आचार्य बालकृष्णले भने, ‘जग्गा उपलब्ध गराउनु होस्, सय करोड रुपैयाँ लगानी गर्छु’

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०७५, १७ : २१
आचार्य बालकृष्णले भने, ‘जग्गा उपलब्ध गराउनु होस्, सय करोड रुपैयाँ लगानी गर्छु’

स्याङ्जा । भारतीय आयुर्वेदिक कम्पनी पतन्जलीका सिइओ तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताएका छन् । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एक अर्ब रुपैयाँ लगानी गर्ने बताएका हुन् ।

‘‘मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु’ आचार्य बालकृष्णले भने, ‘तपाईंहरुको माया र स्नेह मात्रै पाए पुग्छ । लगानीका लागि कुनै चिन्ता छैन । योजना सफल बनाउन एक सय करोड होइन त्योभन्दा पनि बढी म खर्च गर्छु ।’ उनलाई वालिङ उद्योग वाणिज्य संघले वालिङको विकासका लागि उद्योगधन्दाहरु सञ्चालनका लागि ज्ञापनपत्र  बुझाएको थियो ।

आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि तयार रहेको बताउँदै संघलाई जग्गा उपलब्ध गराउन आग्रह गरे । वालिङ नगरपालिका–६ भरुवामा जन्मिएका आचार्य बालकृष्णलाई महोत्सवस्थलमा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले सम्मान गरेका थिए ।

यसरी चर्चामा आए आचार्य बालकृष्ण
चार वर्षअघि बाबा रामदेव कालोधनको मुद्दा लिएर नयाँदिल्लीको रामलिला मैदानमा अनसन बसिरहेका थिए। दिल्ली पुलिसले अनसन हटाउन रामदेवलाई चेतावनी दियो। उनी टसमस भएनन्। पछि मध्यरातमा अनसनस्थलमा पुलिसले धावा बोल्यो। रामदेव महिलाले लगाउने कुर्तासलवार लगाएर अनसनस्थलबाट भागे। अनसनस्थलबाट वेपत्ता भए रामदेवका सबैभन्दा निकटका सहयोगी आचार्य बालकृष्ण। त्यसपछि सोधिखोजी भयो आखिर को हुन् आचार्य बालकृष्ण ?

आचार्य वेपत्ता भएपछि काँग्रेस आइका नेता दिगविजय सिंहले आरोप लगाए, उनी नेपालका अपराधी हुन्। आचार्य बालकृष्ण माथि भारतमा गैरकानूनी ढंगले राहादानी लिएको आरोप समेत लाग्यो। उनी र उनले लिएको राहादानीका विषयमा छानविन गर्न दर्जनौं समिति समेत बने। कहिं उनलाई दोषी देखाइयो, कहीं उनले सफाई पनि पाए।

आन्दोलनका वेला वेपत्ता बालकृष्ण पछि रामदेवकै योग केन्द्र हरिद्वारमा भेटिए। तर उनी भेटिनु अघि नेपालको स्याङ्जा वालिङ वडा नम्वर ४ भरुवामा बस्दै आएका जयबल्लभ सुवेदी र सुमित्रा सुवेदीले सरकारसँग बालकृष्णलाई खोजीदिन अपिल गरे। उनीहरुको दावी थियो, बालकृष्ण हाम्रा छोरा हुन्।

को हुन् बालकृष्ण ?
बालकृष्णको जन्म २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा भएको थियो। जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको हो। बालकृष्ण जन्मिएको तीन महिनापछि उनीहरु बच्चा लिएर स्याङ्जा फर्किएका थिए। त्यसपछि १३ वर्षको उमेरसम्म गाउँमै बसेका बालकृष्णले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए।
१३ बर्षको उमेरमा बालकृष्ण घरबाट भागे। उनी सुरुमा नयाँ दिल्लीको गौतमनगरस्थित वेद विद्याश्रममा पुगे। पछि उनले हरिद्वारमा अध्ययन गरे। आयुर्वेदमा विज्ञता हासिल गरेपछि बालकृष्ण सुवेदी आयुर्वेद शिरोमणि आचार्य बालकृष्णका रुपमा चिनिन थालेका हुन्। १३ बर्षको उमेरमा घर छाडेका आचार्य बालकृष्ण छ वर्षअघि गाउँ फर्किएका थिए।

बाबा रामदेवसंगै गाउँ पुगेका उनले वालिङमा पतञ्जली योग तथा आयुर्वेद केन्द्रको स्थापना गराई बाबा रामदेवबाट उद्घाट्न गराएका थिए। उनले त्यतिबेलै मातापिता र परिवारजनसंग भेटघाट गरेका थिए । उनकै पहलमा स्याङ्जामा आयुर्वेद जडिबुटी उद्यानको निर्माण कार्य समेत भैरहेको छ। खेर गएका पाखा पखेरामा जडिबुटी खेती शुरु गरिएको छ । आचार्य बालकृष्णका बाबु र आमा नेपाली भएपनि उनले नेपाली नागरिकता भने नलिएको स्याङ्जा जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

बालकृष्णको सम्पत्ति
पतञ्जली आयुर्वेदले सन् २०१४ को वित्तीय वर्षमा १४ अर्ब भारुको कारोबार गरेको थियो। तथ्याङ्क उपलब्ध नभएपनि यो कारोबार सन् २०१५ मा २० अर्ब भारु पुगेको इकोनोमिक टाइम्सले जनाएको छ। दुई हजार करोडको कारोबारको अर्थ हो, घरायसी तथा व्याक्तिगत स्वास्थ्यका उत्पादन गर्ने कम्पनी इमामी बराबरको कारोबार ।

बाबा रामदेवको योगालाई प्रचार गर्न आस्था च्यानल सञ्चालनमा छ। यो च्यानलको प्यारेन्ट कम्पनी हो, वैदिक ब्रोडकास्टिङ लिमिटेड। यो कम्पनीमा बालकृष्णको आठ लाख कित्ता सेयरमध्ये सात लाख ९९ हजार २५० कित्ता अर्थात ९९ दशमलव ९ प्रतिशत सेयर हिस्सा छ। बालकृष्णको स्वामित्वमा दिव्य फार्मेसी पनि छ। बाबा रामदेव र आचार्य बालकृष्णको स्वामित्वमा चार वटा ट्रष्ट सञ्चालनमा छन्। तीमध्ये सबैभन्दा ठूलो ट्रष्ट दिव्य योग मन्दिर ट्रष्ट हो। त्यसैगरी पतञ्जली योगपिठ ट्रष्ट, भारत स्वाभिमान र आचार्यकुल शिक्षा सदन छन्।

फुड पार्कमा लगानी
भारत सरकारले सन् २००८ मा मेगा फुड पार्कको योजना सार्वजनिक गर्यो। यो योजनाअनुसार स्थापना हुने फुड पार्कका लागि भारत सरकारले ५० करोड अनुदान दिने निर्णय गरेको थियो। यही योजना अनुसार पतञ्जली आयुर्वेदले दुई वटा फुड पार्कमा लगानी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हरिद्वारमा स्थापना गरिएको फुड पार्कमा पतञ्जली आयुर्वेदको ४९ प्रतिशत सेयर छ । यसको प्रबन्ध निर्देशक हुन, आचार्य बालकृष्ण। झारखण्डमा स्थापना गरिएको अर्को फुड पार्कमा कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस