भेनेजुएलाको पक्ष लिएर सरकार र नेकपाले निकालेको विज्ञप्तिप्रति कांग्रेसको आपत्ति

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १६ : ५५
भेनेजुएलाको पक्ष लिएर सरकार र नेकपाले निकालेको विज्ञप्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  भेनेजुएलाको पक्ष लिएर सरकार र नेकपाले अमेरिकाको विरोध गरेको प्रति आपत्ति प्रकट गरेको छ । भेनेजुएलाको राजनीतिक घटनाक्रमका विषयमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति गलत भएको कांग्रेसको ठहर छ । 

केही समयअघि प्रचण्डले पार्टीका तर्फबाट विज्ञप्ति निकालेर भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए । भेनेजुएलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले हस्तक्षेप गरेको भन्दै प्रचण्डले निन्दा गरेका थिए ।

आइतबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालसँग खासै सामिप्यता र संगत नरहेको मुलुक भेनेजुएलाको विषयलाई लिएर अमेरिका जस्तो मुलुक सँगको सम्बन्ध विगार्न नहुने निष्कर्ष निकालेको हो । 

बैठक सकिएलगत्तै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार र नेकपाका कारण अमेरिकासँग चिसोपना उत्पन्न भएको बताए ।  उनले भने, ‘सत्तारुढ दलका एक जना अध्यक्ष पुष्पकमल दाहालले नेपालको विभिन्न क्षेत्रमा ठूलो सहयोग गर्दै आएको राष्ट्र अमेरिकाप्रति जुन खालको विज्ञप्ति दिनुभायो । त्यसमा हाम्रो पार्टीको आपत्ति छ । सरकारे पनि त्यस्तै खालको विज्ञप्ति निकाल्नु दुःख हो भन्ने हाम्रो धारण हो ।’

‘६५ वर्ष भन्दा लामो समयदेखि नेपालको भौत्तिक विकासमा शिक्षा, स्वास्थ्य, यातायात, लगायत बिभिन्न क्षेत्रमा महत्वपूर्ण अनुदान सहयोग उपलब्ध गराइरहेको अमेरिकाको खिलापमा जसरी उहाँले सार्वजनिक रुपमा धारणा राख्नुभयो । त्यो गलत छ,’ खाँडले दोहोर्‍याए भने, ‘नेपालले आफ्नो राष्ट्रिय स्वार्थका लागि, जनताको हितका लागि पनि नेपालको हितमा सहयोग पुर्‍याउने राष्ट्रसँग सम्बन्ध बिगार्नु हुँदैन ।’
 

प्रतिक्रिया दिनुहोस