शैक्षिक गुणस्तर अभिवृद्धिको लागि जनता बैंक र टिच फर नेपालसँग संझौता

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १६ : २९
शैक्षिक गुणस्तर अभिवृद्धिको लागि जनता बैंक र टिच फर नेपालसँग संझौता

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धी संझौता भएको छ । संझौता पत्रमा जनता बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गर्नुभयो । 

टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हालटिच फर नेपालले सिन्धुपालचोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११० जना फेलो (प्रद्यार्थी) शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिमा कार्य गरिरहेको छ ।

संझौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई वार्षिक रुपैयाँ ५ लाख प्रदान गर्नेछ । उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तीलाई फेलो शिक्षकको रुपमा खटाउने छ । यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरिक हुनेछन् । बैंकले यस सहयोगबाट ग्रामिण क्षेत्रका विद्यालय र सहरी क्षेत्रका विद्यालयको बीचमा हुने शैक्षिक असमानता कम गर्न महत्वपूर्ण सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस