सेवाग्राही उपचार सेवाबाट वञ्चित : चिकित्सकहरुलाई हड्ताल नगर्न निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १४ : ३७
सेवाग्राही उपचार सेवाबाट वञ्चित : चिकित्सकहरुलाई हड्ताल नगर्न निर्देशन

चितवन । अनशनरत डा गोविन्द केशीको जीवनरक्षा माग गर्दै आज शुक्रबारबाट नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरेपछि सेवाग्राहीले उपचार सेवा पाउन सकेको छैनन् । 
अस्पतालमा सबैभन्दा बढी सेवा लिने विभागमा पर्छ ओपीडी सेवा । यही सेवा बन्द भएपछि उपचारमा आएका हजारौँ सेवाग्राहीहरु उपचार नपाइ घर फर्कन बाध्य भएका थिए । 
नेपाल चिकित्सक संघले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै ओपीडी सेवासमेत बन्द गराएपछि सर्वसाधारणहरुले विरोध जनाउन थालेका छन् । 
डा. केसीको पक्षमा गत सोमबारदेखि नेपाल चिकित्सक संघले थालेको रिले अनशनलगायत विरोधका कार्यक्रमलाई बेवास्ता गरेको भन्दै सरकारलाई दवाव दिन संघले शुक्रबार देशैभरका सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था आकस्मिक बाहेकका सेवा ठप्प पार्दा उपचार लिन आएका सेवाग्राही उपचार नपाइ फर्केका थिए ।  
स्वास्थ्य मन्त्रालयका बिशेषज्ञ डा. सुशील प्याकुरेलले स्वास्थ्य जस्तो क्षेत्रमा बिभिन्न बहानामा पटकपटक आन्दोलन हुनु राम्रो नभएको बताउनुभयो । 
‘यसले अराजकता अरु बढ्न सक्छ । भोलि नर्सले आन्दोलन गर्लान्, ल्यावतर्फकाले आन्दोलन गर्लान् । यसैबीचमा विरामीको मृत्यु होला । अनि त्यसको जिम्मा कसले लिने’ उहाँको प्रश्न थियो ।
मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले चिकित्सकहरुलाई अनसन र हड्ताल नगर्न निर्देशन दिएको छ । मन्त्रालयले हड्ताल र आन्दोलनका कारण विरामीहरु सेवाबाट बञ्चित हुने भन्दै अनशन हड्ताललगायतका अवाञ्छनीय गतिविधि नगर्न अपिल गरेको छ। 
कारवाही हुन्छ : स्वास्थ्य सचिव चौधरी 
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल जारी राखे प्रशासनिक कारवाहीमा जाने बताउनुभयो ।  सचिव चौधरीले सेवामा नखटिने सरकारी चिकित्सकहरुको लागत सङ्कल गर्ने भइरहेको भन्दै सङकलनपछि कारवाहीको प्रकृयामा जाने जानकारी दिनुभयो । 
केही अस्पतालमा शुक्रबार ओपीडी सेवा सञ्चालन नभएपनि ओपीडीमा आउने विरामीलाई आकस्मिक कक्षबाट सेवा दिइरहेको आफुले जानकारी पाएको सचिव चौधरीको भनाइ छ ।   
सहभागी नहुन आह्वान
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध चिकित्सक संगठनहरुले नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनको एजेण्डा राजनीतिक रहेकाले सहभागी नहुन आह्वान गरेका छन् । तत्कालीन एमालेनिकट राष्ट्रिय चिकित्सक संघ नेपाल र तत्कालीन माओवादीनिकट नेपाल प्रगतिशील चिकित्सक संघले संयुक्त विज्ञप्ति जारी गरी अस्पतालमा आन्दोलन औचित्यहीन रहेको बताएका हुन् ।
राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेल र प्रगतिशीलका अध्यक्ष डा. माधव लम्सालले संयुक्त विज्ञप्ति जारी गरी नेपाल चिकित्सक संघका सीमित व्यक्तिले स्वघोषणा गरेको आन्दोलन कार्यक्रममा समर्थन जनाउन नसकिने प्रष्ट पारेका छन् । दुवै संगठनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको चिकित्सा शिक्षा विधेयकलाई स्वागत गर्दै यसले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गणस्तरीय तथा जनमुखी बनाउन नेपालको इतिहासमा कोशेढुंगा साबित हुने दावी समेत गरेका छन् ।
यसैबीच, चिकित्सक संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले अस्पतालमा हड्ताल गर्ने कार्यक्रम समग्र संगठनको नभएर केही राजनीतिक व्यक्तिहरुको निर्णय भएको आरोप लगाउनुभएको छ ।  
डाक्टर पक्राउ
राष्ट्रपति कार्यालय अगाडिको निषेधित क्षेत्र तोड्ने खोज्ने त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरु पक्राउ परेका छन् । शिक्षण अस्पतालबाट र्याली निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा टिचिङको आवासीय चिकित्सक संघका अध्यक्ष डा सुमित पाण्डेसहित १७ जना रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस