चितवन । भरतपुर महानगरपालिकाले दूध उत्पादन किसानहरुलाई प्रतिलिटर २५ पैसा अनुदान दिइरहेको छ । दूधमा मात्र होइन, कृषिका अन्य क्षेत्रमा पनि महानगरले भारी अनुदानको व्यवस्था गरेको छ ।
कृषिलाई प्रमुख प्राथमिकतामा राखेर अनुदानको कार्यक्रम ल्याइएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर महानगरले यही वर्षभित्र दिने गरी कृषिका विभिन्न कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरेको हो ।’
भरतपुर महानगरपालिका प्रमुख दाहालका अनुसार यही वर्ष कृषिका विभिन्न क्षेत्रमा महानगरले ४१ लाख ५० हजार अनुदान दिन लागेको हो । उहाँले अनुदानको लागि आवेदन माग्ने र कृषक तथा कृषि सहकारीहरु छनौट गर्ने काम पनि पूरा भएको बताउनुभयो ।
‘यही वर्ष कृषि क्षेत्रमा झन्डै ४२ लाख अनुदानको व्यवस्था गरिएको छ, आगामी दिनमा अनुदानमा अझ वृद्धि हुँदै जानेछ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘अनुदानले कृषि उत्पादनमा पक्कै पनि ठूलो मद्दत पुग्नेछ ।’
मेयरसँग युवा कृषक कार्यक्रम, कृषक समूह तथा कृषि सहकारीलाई तोरी मिल स्थापना कार्यक्रम, कृषि उपज प्रशोधन केन्द्र निर्माण सहयोग कार्यक्रम, कृषि उपज संकलन केन्द्र निर्माण तथा मर्मत सहयोग कार्यक्रम, द्वन्द्व÷भूकम्पपीडित लक्षित कृषि कार्यक्रम, बीउ गोदाम घर निर्माण कार्यक्रम, सीमान्तकृत वर्गका लागि सामूहिक तरकारीखेतीलगायतका कार्यक्रममा महानगरले अनुदान दिन लागेको हो ।
भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाका अनुसार कृषिका आठवटा कार्यक्रममा अनुदान दिन लागिएको हो । मेयरसँग युवा कृषक कार्यक्रमअन्तर्गत केरा, तरकारी, पुष्पखेती र मौरी, माछापालनका लागि १० जना किसानलाई एक लाखका दरले १० लाख अनुदान दिने शाखाले जनाएको छ ।
शाखाका कृषि विकास अधिकृत विनोद लामिछानेले भन्नुभयो, ‘अनुदानका लागि व्यक्ति छनोट हुने काम सम्पन्न भइसकेको छ ।’ पहाडी क्षेत्रका लागि उच्च प्रविधिको प्लास्टिक घर निर्माणका लागि २ लाख ५० हजारका दरले २ जना (व्यक्ति वा समूह सहकारी) लाई ५ लाख अनुदान दिने बताइए पनि छनोट एक जनामात्र भएका छन् । ‘भनेबमोजिमको मापदण्ड नपुगेपछि एक जनामात्र छनोट गरिएको हो’, अधिकृत लामिछानेले भन्नुभयो ।
यस्तै, महानगरले द्वन्द्व, भूकम्पपीडित लक्षित कृषि कार्यक्रमअन्तर्गत ४ जनालाई तरकारीखेतीका लागि प्रतिव्यक्ति एक लाखको दरले ४ लाख अनुदान दिने भएको छ ।
यस्तै, कृषि उपज प्रशोधन केन्द्र निर्माण सहयोग कार्यक्रमअन्तर्गत ४ जनाले (व्यक्ति, समूह सहकारी) २ लाख ५० हजारका दरले महानगरको अनुदान पाउने भएका छन् । यसैगरी, कृषक समूह वा कृषि सहकारीलाई तोरी मिल स्थापनाका लागि एक जनाले २ लाख ५० हजार अनुदान पाउने महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाले जानकारी दिएको छ ।
बीउ गोदाम घर निर्माणका लागि एउटा फर्म वा सहकारीले एक लाख अनुदान पाउने भएका छन् । कृषि उपज संकलन केन्द्र निर्माण तथा मर्मत सहयोग कार्यक्रमअन्तर्गत ३ लाख दुई जनाले अनुदान पाउने भएका छन् । यो अनुदान समूह वा सहकारीलाई प्रदान गरिने महानगरले जनाएको छ, जुन अुनदानका लागि सहकारी तथा समूह छनोट भइसकेको छ ।
यस्तै, सीमान्तकृत वर्गका लागि सामूहिक तरकारीखेती सहयोग कार्यक्रमअन्तर्गत २ लाख अनुदान दिइने महानगरपालिकाको कृषि शाखाले जनाएको छ ।
भरतपुर महानगरले २९ वडाबाट अनुदानका लागि आवेदन लिएर व्यक्ति तथा सहकारी छनोट गरेको हो । आवेदन लिने र छनोट गर्ने काम सकिएको भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाका कृषि विकास अधिकृत विनोद लामिछानेले बताउनुभयो ।
व्यक्ति र सहकारी समूह गरी ६२ वटा आवेदन परेको शाखाले जनाएको छ । व्यक्तिबाट ४२ र समूह सहकारीबाट २० वटा आवेदन परेको शाखाका कृषि विकास अधिकृत लामिछानेले भन्नुभयो । जसबाट सहकारी र व्यक्ति गरी ३१ जना छनोटमा परेका छन् । किसानलाई सम्झौता गरेर अनुदान दिइने र काम गरे नगरेको अनुगमन हुने महानगरपालिकाले जनाएको छ ।
अनुदान पाउने सहकारी, समूह र किसान
कृषक समूह कृषि सहकारीलाई तोरी मिल स्थापना
१) किसान प्रगति सहकारी, भरतपुर ६ (अनुदान–२ लाख ५० हजार)
कृषि उपज प्रशोधन केन्द्र निर्माण
१) पञ्चतत्व कृषि सहकारी, भरतपुर २३ (अनुदान–२ लाख ५० हजार)
२) सिर्जन कृषक समूह, भरतपुर २५, (अनुदान–२ लाख ५० हजार)
३) आरोहण मौरीपालन, भरतपुर १५ (अनुदान–१ लाख २५ हजार)
४) नर्मदेश्वर साना किसान, भरतपुर १५ (अनुदान–१ लाख २५ हजार)
कृषि उपज संकलन केन्द्र निर्माण तथा मर्मत
१) ब्रम्ह ज्योति कृषि सहकारी भरतपुर १३, (अनुदान–१ लाख ५० हजार)
२) कालिका कृषि सहकारी भरतपुर २३ (अनुदान–१ लाख ५० हजार)
द्वन्द्व भूकम्पपीडित लक्षित कृषि कार्यक्रम
१) खड्गबहादुर कुँवर भरतपुर ४ (अनुदान–१ लाख)
२) वीरबहादुर ढकाल भरतपुर १४ (अनुदान–१ लाख)
३) डिलनाथ आचार्य भरतपुर २२ (अनुदान–१ लाख)
४) ईश्वरकुमार श्रेष्ठ भरतपुर ७ (अनुदान–१ लाख)
पहाडी क्षेत्रमा प्लास्टिक घर निर्माण
१) नवीनराज मगर भरतपुर २९, (अनुदान–२ लाख ५० हजार)
मेयरसँग युवा कृषक कार्यक्रम
बालकृष्ण घिमिरे भरतपुर ८, (अनुदान–१ लाख)
राधादेवी दवाडी भरतपुर १३ (अनुदान–१ लाख)
कमला पोख्रेल भरतपुर १५ (अनुदान–१ लाख)
सुनकेशरी महतो भरतपुर १९ (अनुदान–१ लाख)
अरुणाराउत थापा भरतपुर २१ (अनुदान–१ लाख)
राममायाँ महतो भरतपुर २२ (अनुदान–१ लाख)
पुष्पलता अधिकारी भरतपुर २२ (अनुदान–१ लाख)
खुसीराम अधिकारी भरतपुर २५ (अनुदान–१ लाख)
आशिका घिमिरे भरतपुर २२ (अनुदान–१ लाख)
यादवप्रसाद कँडेल भरतपुर २६ (अनुदान–१ लाख)
बीउ गोदाम घर निर्माण
१) सिर्जना महिला कृषक समूह भरतपुर २७ (अनुदान–१ लाख)
सामुदायिक तरकारीखेतीका लागि सहयोग
१) जागृति कृषि समूह भरतपुर २५ (अनुदान–२ लाख)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०७५, १३ : १०
लेखकबाट थप