चितवन आएर रामशरणले भने ‘काँग्रेसका कार्यकर्ता निरास हुनु पर्दैन’

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०७५, १७ : १९
चितवन आएर रामशरणले भने ‘काँग्रेसका कार्यकर्ता निरास हुनु पर्दैन’

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री रामशरण महतले काँग्रेसका कार्यकर्ता निरास हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाली काँग्रेस क्षेत्रीय समितिले रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

काँग्रेसले निर्वाचन हारेको भए पनि पार्टीको साख कायम रहेकोले निरास हुने अवस्था नरहेको उनले बताए । नेता महतले नेपाली काँग्रेसले मान्दै आएको लोकतान्त्रिक समाजवाद कम्युनिष्टहरुले अनुशरण गरेको बताए । नेपालका तानाशाही कम्युनिष्टहरुले काँग्रेसको सिद्धान्तलाई अनुशरण गरेको भन्दै उनले समाजवाद उन्मुख लोकतन्त्रले मात्र समृद्धि ल्याउने बताए ।

उनले तीन तहको निर्वाचनमा भएको कमजोरीलाई स्थानीयदेखि केन्द्रसम्म समीक्षा गर्नु पर्ने बताए । उनले विकासका लागि विदेशी पुँजीलाई आकर्षित गर्नुपर्ने बताए । निजी क्षेत्रलाई संरक्षण र सहकारीलाई प्रवद्र्धन गर्ने नीति कांग्रेसले ल्याएको बताउँदै नेता महतले विदेशी लगानी आर्कषण गर्नुपर्ने धारणा सुनाए ।

क्षेत्रीय सभापति कुमार कार्कीको अध्यक्षतमा भएको कार्यक्रममा पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वसांसद सावित्री चौधरी, प्रवक्ता निता ढकाल, महासमिति सदस्य सुशिला उपे्रती, खैरहनी नगर सभापति शशी खनिया, कालिका सभापति राजु श्रेष्ठ, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस