२८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०७५, १२ : ४०
२८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा

काठमाडौं । सरकारले द्वन्द्वको क्रममा मारिएका २८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

मंगलबार सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २८ सय ७ जनालाई सहिद घोषणा गरेको जानकारी गराएका हुन् । 

शहीद घोषणा गरिएकाहरु मध्ये सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरी रहेका छन् । कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गर्ने निर्णय निर्णय गरिएको हो ।

देशका लागि ज्यान दिनेहरुका परिवारमा जुन असमानता थियो त्यो असमानता सोमबारको क्याबिनेटको निर्णयसँगै हटेको भन्दै प्रधानमन्त्री ओलीले राज्यले सबैलाई समान व्यवहार गर्ने बताए ।  द्वन्द्वका क्रममा एकले अर्काको अस्तित्व नामेट पार्ने अवस्था रहेको भएपनि अहिले एकले अर्कालाई सम्मान गर्ने वातावरण बन्दै देश बनाउने भावना प्रकट भएको पनि प्रम ओलीले बताए ।

भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्न प्रतिबद्धता जनाउँदै ओलीले भने, ‘म आफू भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ, कसैले गरेमा अनुहार नहेरी कारबाही गर्छु । कारबाहीमा कुनै मोहहिज्जा गर्ने छैन । उनले थपे, ‘हिजोको दिनमा अधिकार आफ्नो हातमा लिएर १३ पन्ने आतंक पनि चलेको हो । भ्रष्टाचार विरुद्धको कुरा मात्रै गरेर हुन्न वास्तवमै नियन्त्रण गर्ने गरी काम हुनुपर्छ । ’
 

प्रतिक्रिया दिनुहोस