समाचार लेखेको भरमा दण्डित हुनु पर्ने अवस्था आउन हुँदैन : आचार्य

सफल खबर संवाददाता

सोमबार, १४ माघ २०७५, १७ : १२
समाचार लेखेको भरमा दण्डित हुनु पर्ने अवस्था आउन हुँदैन : आचार्य

चितवन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेको भरमा दण्डित हुनु पर्ने अवस्था आउन नहुने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले संयुक्त रुपमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार आचार संहिता जागरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष आचार्यले राज्यमा जुनसुकै व्यवस्था भएपनि पत्रकारलाई स्वतन्त्र पूर्वक लेख्न पाउने अधिकार सुनिश्चित गर्नु पर्ने बताउनु भयो । लेख्न पाउने अधिकार कुनै पनि नाममा हनन गर्न नहुने उहाँको भनाइ थियो । 
उहाँले निर्धक्कसँग लेख्न सक्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने बताउनु भयो । पत्रकारलाई डण्डा लगाएर तह लगाउँछु भन्ने सरकारले सोच्न नहुने उहाँको भनाइ थियो । पत्रकार आफैले आचारसंहिता बनाएर त्यसै अनुसार काम गरिरहेको उहाँले बताउनु भयो । स्वतन्त्रतापूर्वक लेख्ने वातावरण भएमात्र समाज सुसूचित हुन पाउने उहाँको धारणा थियो ।
पैसा लिएर समाचार लेख्नु आफैमा आचारसंहिता विपरीतको कार्य भएकोले कसैबाट पैसा लिएर लेखिने समाचारलाई सौजन्य भनेर राख्नुपर्ने उहाँको सुझाव थियो । पत्रकार महासंघ मात्रले सबै मिडियालाई नियन्त्रण गर्न नसक्ने भएकोले मिडियाको गुणात्मक र व्यावसायिक विकास गर्ने दायित्व राज्यको पनि हुने उहाँले बताउनु भयो ।
 

प्रतिक्रिया दिनुहोस