देवघाटमा विराट महायज्ञ : वैदिक सनातन धर्म र संस्कृतिको संवद्र्धन हुने

सफल खबर संवाददाता

सोमबार, १४ माघ २०७५, १३ : ०५
देवघाटमा विराट महायज्ञ : वैदिक सनातन धर्म र संस्कृतिको संवद्र्धन हुने

चितवन । देवघाटधाममा यही माघ २२ गतेदेखि फागुन १ गतेसम्म विराट् ज्ञानमहायज्ञ हुने भएको छ । 
२०५० सालमा स्थापित महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्ष एवम् सन्त शिरोमणि ब्रहलीन श्री १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पावन स्मृतिमा देवघाटधाममा १० वर्षपछि ज्ञान महायज्ञको आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताउनुभयो ।
आयोजक मूल समितिले आज गरेको पत्रकार सम्मेलनमा डा सुवेदीले भन्नुभयो, ‘पवित्र तीर्थ देवघाटधामको धार्मिक एवम् सांस्कृतिक महत्वको प्रचारप्रसारका साथै प्राचीन वैदिक यज्ञपद्धतिको संरक्षण गरी वैदिक सनातन धर्म र संस्कृतिको संवद्र्धन र प्रचार गर्नु महायज्ञको मूल उद्देश्य हो ।’
महायज्ञ सञ्चालनका लागि महेश संन्यास आश्रमका वर्तमान पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको अध्यक्षतामा देशका विभिन्न प्रतिष्ठित महानुभावहरुसहितको १००८ सदस्यीय महायज्ञ आयोजक मूल समितिको गठन भएको छ । यसका साथै हालसम्म देशका करिब ६० जिल्लामा सहयोग समितिको गठन भइसकेको छ ।
 
राष्ट्रपतिबाट उद्घाटन 
महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुनेछ । महायज्ञको सञ्चार समन्वय एवम् प्रचार प्रसार उपसमितिका संयोजक टंकनाथ पौडेलले समापन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महायज्ञबाट देवघाटधामको परिचय देशविदेशमा लैजाने र देवघाटधामको पर्यटकीय महत्व बढ्दै जाने अपेक्षा गरिएको छ ।’
पौडेलका अनुसार देशविदेशबाट हजारौं श्रद्धालुहरु महायज्ञमा सरिक हुनेछन् । पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो, ‘दुई हजार श्रद्धालु भक्तजनहरुको आवासको व्यवस्था महायज्ञ परिसरमा नै मिलाइएको छ, जलपान र भोजनको लागि आवश्यक पूर्ण तयारी भइसकेको छ । सुरक्षा, सरसफाइ र यातायातको लागि पनि आवश्यक व्यवस्था मिलाइएको छ ।’

यस्तो हुन्छ महायज्ञ
महायज्ञमा यस गुरुकुलबाट अध्ययन गरेका आचार्यहरुद्वारा १०८ श्रीमद्भागवत पाठपारायणका साथै भगवान् शिवजीको इक्षुरस (उखुको रस) द्वारा महारुद्राभिषेक गर्ने कार्यक्रम रहेको छ । यसका साथै चारै वेद, विभिन्न पुराणहरुको पाठ पारायण, शक्तिको आराधना र ब्रहगायत्रीद्वारा विधिपूर्वक लक्षहवन पनि गरिनेछ । पितृउद्धारका लागि छुट्टै अनुष्ठान र १०८ लाखबत्ती, विभिन्न अंगसहित धान्याचल, तुलादान आदि धार्मिक दृष्टिले ज्यादै महत्वपूर्ण मानिएका अनुष्ठानहरु सम्पन्न गरिनेछ । यसअघि यस्तो महायज्ञ २०६५ सालमा भएको थियो । 

 
 

प्रतिक्रिया दिनुहोस